नेपाल पत्रकार महासंघ दाङ शाखाको भवनमा आइसोलेशन कक्ष स्थापना गरिने भएको छ।
महासंघको आज बसेको अनलाइन बैठकले कोरोना संक्रमित पत्रकार र फ्रण्टलाइनरहरुका लागि आइसोलेशन स्थापना गर्ने निर्णय गरेको हो।
दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालमा शैया पाउन कठिन भएकाले पत्रकारलाई सहज रुपमा उपचार गर्नका लागि आइसोलेशन तयारीको निर्णय गरेको नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले जानकारी दिए।
यसैगरी बैठकले पत्रकार मात्र नभई कोरोना महामारीका बेला खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतका फ्रन्टलाइनरहरुलाई पनि आइसोलेशन अभाव हुन सक्ने कुरालाई मध्यनजर गर्दै आवश्यक परे महासंघको भवन आइसोलेशनकै लागि उपयोग गर्न दिने निर्णय गरेको छ।
आइसोलेशन स्थापनाका लागि आवश्यक सामग्री, उपकरण र जनशक्ति व्यवस्थापन गर्न विभिन्न सहयोगी निकायहरुसँग समन्वय गर्ने निर्णय गर्दै बैठकले स्थानीय तह, स्वास्थ्य संस्था, बिभिन्न व्यवसायीक तथा सामाजिक संघसंस्था र व्यक्तिहरुलाई आवश्यक सहयोगका लागि समेत अपिल गरेको छ।