अस्पतालको पेटीमा छट्पटिँदै कोभिडका बिरामी

रातोपाटी

काठमाडौँ

माया श्रेष्ठ

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको मङ्गलादेवी बर्थिङ सेन्टरमा रहेको कोभिड वार्डको बाहिरपट्टि पेटीमा श्वास फुलिएर स्याँस्याँ गर्दै घोप्टो परेर भुइँतर्फ फर्किएर एकोहोरो हेरिरहेका थिए, राम श्रीवास्तव (नाम परिवर्तन) । कहिले जुरुक्क उठ्थे तर एकै छिनमा पेटीमा थचक्क बस्थे । बस्दा पनि उनलाई जिउ थाम्न निकै गाह्रो भएको देखिन्थ्यो । श्वास बढ्न केही कम हुँदा उनी दुई तीन मिनेट आँखा बन्द गर्थे । तर, फेरि स्वाँ स्वाँ भइहाल्थ्यो । 

उनी आत्तिएको देखेर बेड कुरेर बसिरहेका अर्का सङ्क्रमितले पिल्लरको आड लागेको ठाउँ छाडिदिन्छन् । अडेस लागेर बसेको केहीबेरमा खोकी र स्वाँ स्वाँले उनलाई झन् गाह्रो बनाउँछ । त्यसपछि खोक्दा आएको कफ, सिँगान त्यही खुल्ला ठाउँ थुक्छन् ।

उनको अवस्था देखेर पीसीआर परीक्षण गर्न अस्पताल पुगेकामध्ये एकले ढोकामा पुगेर स्वास्थ्यकर्मीलाई ‘उहाँलाई धेरै गाह्रो भए जस्तो छ, जसरी भए पनि बेड मिलाइदिनुहोस्’ भनेर भनेपछि मात्र एक स्वास्थ्यकर्मी सोधपुछ गर्न आएका थिए ।

त्यसपछि पनि उनी बेडको प्रतीक्षा कायमै रह्याे । उनी पुन: पिल्लरको आड लागेर बसिरहे । केही घण्टापछि उनकी श्रीमती पनि अस्पताल आइपुगिन् । ८ दिनदेखि बिरामी परेका श्रीवास्तव निको हुन्छ कि भनेर घरमै बसेका रहेछन् । सुगरका समेत बिरामी उनलाई धेरै गाह्रो भएपछि कोरोना सङ्क्रमण भएको आशङ्कामा पीसीआर गर्दा कोभिड पुष्टि भएको रहेछ । अनि मात्र उनी अस्पताल भर्ना हुन आएका थिए ।

अस्पताल आउने बित्तिकै उनकी श्रीमती आफ्नाे पतिको स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै बेड मिलाइदिन ढोकाबाहिर निस्कने हरेक चिकित्सक र नर्सलाई बिन्ती गर्न थालिन्  ।

त्यहीबीचमा एक चिकित्सक आएर ‘अहिले अक्सिजनयुक्त बेड खाली छैन, भित्र सबै बेड भरिएका छन्’ भन्ने जवाफ दिन्छन् । बरु उनलाई पेटीमा राखिएको बेडमै घोप्टो परेर पल्टन लगाउँछन् । त्यहाँ केही नहुने देखेर श्रीवास्तावकी श्रीमती बेड मिलाइदिन आफन्तलाई फोन लगाउन थाल्छिन् ।

प्रकाशित मिति: : 2021-05-04 18:28:00

प्रतिकृया दिनुहोस्