अभिनेता पल शाहले कोरोना संक्रमितका लागि अक्सिजन ग्यास वितरण गर्ने भएका छन्।
कोरोना संक्रमण बढेसंगै अक्सिजनका सिलिन्डर अभाव भएका कारण स्वयंले सो अभियान सुरु गर्न लागेको उनले बताए।
अहिले अक्सिजनका सिलिन्डर संकलनको काम भइरहेको र केही दिनमै निःशुल्क अस्पताललाई उक्त अक्सिजन हस्तान्तरण गर्ने उनले सुनाए।
‘हाम्रो टिम नेपाल’ सँगको सहकार्यमा आर्थिक अभावका कारण अस्पतालमा छट्पटाइरहेका कोरोना संक्रमितका लागि अक्सिजन सहयोग गर्न लागेको पलको भनाइ छ। 'अक्सिजनका सिलिन्डर संकलनसँगै किन्ने योजना पनि बनाइरहेका छौं' उनले भने।
पल बुधवार (भोली) बाट अक्सिजनका सिलिन्डर खोज्न आफैं फिल्डमा खटिने तयारीमा छन्। अस्पतालहरूसँग समन्वय गरेर २/३ दिनमा अक्सिजन सिलिन्डर वितरण गरिने उनले बताए।
उनी कोरोनाका कारण बिहान बेलुका हातमुख जोर्न समस्या भएका व्यक्तिहरुलाई पनि सहयोग गर्दैछन्। केही दिनमा खाद्यन्न लिएर बागलुङको एउटा गाउँमा जाने तयारी भएको उनको भनाइ छ।
उनले गत वर्षको लकडाउनका समयमा रोजीरोटी गुमेर हातमुख जोर्न समस्या भएकालाई ५ लाख बराबरको खाद्यन्न दिएर सहयोग गरेका थिए।