निषेधाज्ञाको सातौँ दिनः स्वयम्भु सुनसान, बाँदर र कुकुर भोकै (फाेटाे/भिडियाे)

कोरोना भाइरसको दोस्रो लहर (भेरियन्ट) को संक्रमण तीव्र गतिमा बढ्दै गएपछि सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको आज सातौँ दिन हो।

भोलीदेखि दोस्रो हप्ताको निषेधाज्ञा सरकारले थपेको छ। दिनहुँ सयौँ मानिस मर्निङ वाक, पुजा गर्न स्वयम्भु उक्लने गर्थे।

पहिलो हप्ताको पाँचौ दिनसम्म निषेधाज्ञामा बिहान केही खुला थियो। यद्दपी, मानिसको चहलपहल भने ह्वात्तै घटेको थियो। तर दोस्रो हप्ता निषेधाज्ञा जारी गरेपछि प्रशासनले निकै कडा गरेको छ।

स्वयम्भु क्षेत्र सुनसान छ। 'मंकी टेम्पल' ले विदेशी पर्यटक माझ लोकप्रिय स्वयम्भु कोरोना भाइरसको संक्रमणले लगभग ८ महिनासम्म सुनसान थियो। दशैँ तिहारपछि प्रतिबन्ध खुकूलो भएसँगै दैनिक जीवन सामान्य हुँदै गएको थियो।

कोरोना भाइरसको दोस्रो लहर (भेरियन्ट) को संक्रमण तीव्र गतिमा बढ्दै गएपछि सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा लगायो।

आज बिहानै पंक्तिकार स्वयम्भु क्षेत्रको परिसर पुग्दा सुनसान थियो। स्वयम्भु क्षेत्रमा रहेका बाँदर र कुकुरहरू भाेकै देखिन्थे। निषेधाज्ञाभरी स्थानीय थाङ्का व्यापारी र परिवारले दिनहुँ बाँदर र कुकुरलाई खाना खुवाउँछन्।

हामी पुग्दा पनि उनी आफ्नो परिवारसहित गाडीमा खाना बोकेर स्वयम्भु पुगेका थिए। लकडाउन र निषेधाज्ञामा सबैभन्दा मार यहाँका जनावरलाई पर्छ। 'हामी दिनहुँ खाना बोकेर यी जनवारलाई सकेको खाना खुवाउँदै आएका छौ।', हिजोदेखि हिँडडुलमा निकै कडा गरेको स्वयम्भु संरक्षण समिति काउन्टरका सुनिल कुमार थापाले बताए।

'पर्यटकलगायत स्थानीय मानिसलाई पूर्ण रुपमा रोक लगाएको छ,' उनले भने। यद्दपी, यहाँका बाँदर र कुकुरलाई खाना खुवाउन आउनेलाई भने खुला छ। कोही जनवारप्रति माया गर्ने दानीहरुलाई कुनै रोकटोक नगरिएको उनले बताए।

वनस्थलीका व्यवसाय राजेश श्रेष्ठ नियमित स्वयम्भु कुँदेर पुग्थे। दिनहुँ उनी पुग्दा बाँदरलाई विस्कुट बाँड्ने गरेका थिए। अब भोलीदेखि निषेधाज्ञा कडा वनाएको छ। उनलाई स्वास्थको भन्दा पनि यहाँका जनवारप्रति माया लागिरहेकाे छ।

'विचरा जनवारहरु भोकै बस्ने भयो, यहाँ दिनहुँ आउने मानिसले यिनीहरुलाई फलफुल, वदाम, मिठाई आदि खानेकुरा बाँड्ने गर्थे।', उनले चिन्तित हुँदै थपे।

'नागरिकको सुरक्षाको लागि सरकारले लगाएको निषेधाज्ञाको समर्थन गर्दै हामी सबैले आ-आफ्नो तरिकाले सकेको खाना वितरण गर्नुपर्छ।', उनले भने, 'यो मानवीय कार्य हाे, र धर्म पनि।'

प्रकाशित मिति: : 2021-05-05 20:30:00

प्रतिकृया दिनुहोस्