यो मन त मेरो नेपाली हो !

वीर अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ डा. वीरेन्द्र झाको ६ जनाको परिवारै कोरोना लागेर घरमै आइसोलेसनमा थियो। बाहिरबाट मान्छे बोलाउन नमिल्ने। आफन्त, छरछिमेकी आउने कुरा पनि भएन। खाना बनाउनै असहज अवस्था थियो। त्यही बेला डा. झालाई फोन आयो। रवि सिंहले फोन गरेका रहेछन्। 

सिंहले ललितपुरमा मित्रां दा ढावा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका छन्। ५० जनालाई एकैपटक खाना खुवाउने क्षमता रहेको उक्त रेस्टुरेन्ट ग्राहकलाई अहिले बन्द छ। तर, कोरोना भाइरसबाट संक्रमितहरूका लागि भान्साघर बनिरहेको छ। सिंहले निषेधाज्ञा अवधिमा समस्यामा परेका मजदुर मात्रै होइन, अरुलाई पनि साँझ–बिहान आफ्नै गाडीमा राखेर खाना पुर्‍याउने गरेका छन्। निःशुल्क। 

रविका बाबु–आमा राजा महेन्द्रका पालामा भारतबाट नेपाल आए। काठमाडौंमा व्यापार गरे। रेस्टुरेन्ट चलाए। यताकै रैथाने भए। रवि यतै रमाए। ढिला नेपाली नागरिकता पाए। परिवारका आधाजसो सदस्य भने अझै नेपाली बन्न सकेका छैनन्। 

कोरोना संक्रमणले अप्ठ्यारो परेका ढोकामा अचेल उनै रविको गाडी हर्न बजाउँदै पुग्छ। खाना छाड्छ। र, अर्का संक्रमितकहाँ खाना पुर्‍याउन हतारिएर हुइँकिन्छ। भारतीय मूलका भए पनि उनलाई अब नेपालै आफ्नो लाग्छ। भन्छन्, ‘मलाई यही देशले माया दियो। यहींको माटोमा कर्म गरें। फल पाएँ। जे–जति छ, यहींको छ।’  

प्रकाशित मिति: : 2021-05-09 09:23:00

प्रतिकृया दिनुहोस्