कञ्चनरुप नगरपालिका सिल

सप्तरीको उत्तरपूर्वी भेगमा रहेको कञ्चनरुप नगरपालिकामा कोरोना भाइरस तीव्ररूपमा बढिरहेको भन्दै आजदेखि नगरपालिका सिल गरिएको छ। 

जिल्ला सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को आज बसेको बैठकले नगरपालिका सिल गर्ने निर्णय गरेको सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जानकारी दिए। 

बैठकले कञ्चनरुप नगरपालिकामा जिल्लामै सबैभन्दा सङ्क्रमण दर बढी देखिएकाले सबै वडा सिल गरेर आवतजावतमा कडाइ गर्ने निर्णय गरेको प्रजिअ पोखरेलले बताए। बिहीबार मात्रै उक्त नगरपालिकामा ४८ जनाको पिसिआर जाँच गर्दा ३७ जनामा कोरोना पुष्टि पाइएको थियो। 

कञ्चनरुपमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १२५ पुुगेको छ। सङ्क्रमितमध्ये सबैभन्दा बढी वडा नं ८ मा ७५ जना रहेको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ। वडा नं १ बाहेक सबै वडामा कोरोना सङ्क्रमित भएको बताइएको छ। कोरोनाका कारण कञ्चनरुपमा मात्रै अहिलेसम्म पाँचको मृत्यु भइसकेको जनाइएको छ। 

बिहीबार मात्र तीन सङ्क्रमितको मृत्यु भएको थियो। समुदायस्तरमा कोरोना भाइरस व्यापकरूपमा फैलिरहेकाले रोकथाम तथा नियन्त्रणका लागि एक साता कञ्चनरुपमा स्वास्थ्य सेवाबाहेक सम्पूर्ण सेवा बन्द गरिएको छ। रासस 

प्रकाशित मिति: : 2021-05-14 17:59:00

प्रतिकृया दिनुहोस्