भारतले सुरु गर्‍यो पाकिस्तानमाथि आक्रमण, नौ ठाउँमा क्षेप्यास्त्र प्रहार

भारतले पाकिस्तान र उसबाट नियन्त्रित जश्मु कश्मिरका विभिन्न क्षेत्रहरूमा आक्रमण सुरु गरेको छ। भारतीय सेनाले यसलाई ‘अपरेशन सिन्दूर’ नाम दिएको छ। 

सेनाले पाकिस्तानका विभिन्न नौ स्थानहरूमा क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ। तर पाकिस्तानी सेनाले भने भारतले ३ ठाउँमा मिसाइल हानेको दाबी गरेको छ। 

कुन कुन ठाउँमा आक्रमण भयो भन्नेचाहिँ अहिलेसम्म खुलाइएको छैन। त्यसको क्षति विवरण पनि दुबै पक्षबाट आइसकेको छैन। 

भारतीय सेनाले आतंककारीहरू लुकेर बसेको आश्रयस्थलहरूलाई निशाना बनाइएको बताएको छ। 

पाकिस्तानी प्रधानमन्त्री शहवाज शरीफले भारतीय मिसाइल आक्रमणबारे प्रतिक्रिया दिँदै अब पाकिस्तानका लागि जवाफी आक्रमण गर्नु आफ्नो अधिकार भएको भन्दै आफ्ना सैनिकहरूलाई डटेर सामना गर्न भनेका छन्। 

‘यसको जवाफ दिनका लागि पाकिस्तानलाई पूरा अधिकार छ। भारतले अहिले केही स्थानमा आक्रमण गरेको छ’ उनले भनेका छन् ‘पाकिस्तानले पनि दुश्मनलाई देखाइदिनेछ कि उसको ताकत के छ भनेर।’ 
उनले पूरै पाकिस्तानी नागरिक आफ्ना सैनिकको साथमा रहेको भन्दै त्यसबाट बिचलित नहुन पनि भनेका छन्। 

गत अप्रिल २२ मा भारत प्रशासित जम्मु कश्मिरमा आतंककारीहरूले २६ जना पर्यटकको हत्या गरेका थिए। त्यसमा एकजना नेपाली पनि मारिएका थिए। 

त्यसपछि दुबै देशबीच तनाव चुलिएको थियो। भारतले पाकिस्तानसँग भएको सिन्धु जल सम्झौता खारेज गरेको थियो भने पाकिस्तानले पनि भारतसँग भएका कैयौं सम्झौताहरू रद्द भएको घोषणा गरेको थियो। 
दुबै देशले आआफ्ना कुटनीति फिर्ता बोलाउने र अर्को देशको नागरिकहरूलाई फिर्ता पठाउनेजस्ता कैयौ कदमहरू उठाइरहेका छन्। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसअघि पाकिस्तानमाथि आक्रमण गर्नका लागि सेनालाई स्वतन्त्र छोडिदिएका थिए। त्यो भनेको पाकिस्तानमाथि आक्रमण गर्नका लागि भारतीय सेनालाई सरकारले पूर्णरुपमा छुट दिएको हो।

पाकिस्तानमाथि अब कहाँ, कहिले र कसरी आक्रमण गर्ने भन्ने कुराको निर्णय लिन अब सेनालाई सरकारको आदेश कुर्नु पर्दैन। 

भारतले पाकिस्तानमाथि आक्रमण सुरु गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकदमै ‘लजाजास्पद’ भनेका छन्। 

ह्वाइट हाउसमा बोल्दै उनले दुबै देशबीचको यो युद्ध र तनाव चाँडै सकिने आशा पनि व्यक्त गरेका छन्। 

संयुक्त राष्ट्रसंघले पनि यो आक्रमणबाट युद्धको सुरुवात हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेको छ। 

आजै भारतले सबै राज्य, प्रदेश र जिल्लाहरूमा युद्ध अभ्यास गर्न निर्देशन दिएको छ। यो भनेको आपतकालीन अवस्था के गर्ने र कसरी त्यसको सामना गर्ने भन्ने पूर्वअभ्यास हो। 

यसलाई सिभिल डिफेन्स अर्थात्  मक ड्रिल पनि भनिन्छ। यसमा आम सर्वसाधारण नागरिकदेखि सरकारी, कर्मचारी, सैनिक, प्रहरीलगायतका सुरक्षा निकाय, उद्धारकर्मीहरू, स्वंयसेवक सबै हुन्छन्। 

युद्ध भइहाल्यो भने के गर्ने? कसरी त्यसको सामना गर्ने, युद्धका बेला आउनसक्ने आपतकालीन अवस्थामा के गर्ने? भन्ने कुराहरू यसमा सिकाइन्छ र त्यसका अभ्यास गरिन्छ। 
 

प्रकाशित मिति: : 2025-05-07 07:14:00

प्रतिकृया दिनुहोस्