नयाँ भेरियन्टसहितको कोभिड-१९ को सङ्क्रमण तीव्ररुपमा फैलिएका बेला गोकर्णेश्वर नगरपालिका–३ ले अक्सिजनका ३२० सिलिन्डर जम्मा गरेको छ।
हस्तकला व्यवसायीको सहयोगमा घर एवं विभिन्न उद्योगमा पुगेर खाली तथा भरिएका गरी ३२० अक्सिजन सिलिन्डर जम्मा गरिएको वडाध्यक्ष राजेन्द्रकुमार भण्डारीले राससलाई जानकारी दिए।
कोरोना सङ्क्रमित भई गम्भीर भएर अक्सिजनसहितको उपचार आवश्यक पर्नेका लागि घर घर डुलेर अक्सिजन सिलिन्डर जम्मा पारी नगर कार्यपालिकाको कार्यालयमा बुझाइएको हो।
अक्सिजनको अभाव भई अस्पतालले कोरोना सङ्क्रमितलाई उपचारका लागि भर्ना गर्न नसकिने भन्दै सार्वजनिक सूचना जारी गर्न थालेपछि महानगरीय प्रभाग गोकर्णको सहयोगमा पछि फिर्ता गर्ने सर्तमा घर र उद्योगमा रहेका अक्सिजन सिलिन्डर जम्मा गरिएको हो।
जनप्रतिनिधि, सुरक्षाकर्मीलगायत आएर प्रयोगपछि फिर्ता गर्ने प्रतिबद्धता जनाएर अक्सिजन सिलिन्डर जम्मा गर्न सहज भएको जनाइएको छ।
भेरोसेल दोस्रो चरणको खोप शुरु
यसैबीच कोरोनाबाट बच्न उपयोगी मानिएको चिनियाँ खोप भेरोसेलको दोस्रो चरण नगरपालिकाका दुई केन्द्रमा लगाउन शुरु गरिएको स्वास्थ्य शाखाले जनाएको छ।
वडा नं ५ स्थित चामुण्डा उच्च मावि भवन परिसर र नेपाल मेडिकल कलेज परिसरमा बिहान १०ः०० बजेदेखि खोप शुरु गरिएको हो। जनप्रतिनिधिको उपस्थितिमा नगरपालिका स्वास्थ्य शाखा, नेपाल प्रहरी, नेपाल रेडक्रस, नगर प्रहरीको व्यवस्थापनमा सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी खोप सेवा शुरु गरिएको छ।
दोस्रो चरणको खोप लगाउन पहिलो चरणमा खोप लगाएको कार्ड अनिवार्य रुपमा लिएर आउन अनुरोध गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यायले सुनाए। पहिलो चरणको खोप कार्ड लिएर आउनेलाई मापदण्डअनुसार लाममा राखी खोप दिइएको छ।रासस