दिनानुदिन भइरहेको वर्षाका कारण धौलीगङ्गा नदीमा पानीको बहाव बढेको छ। पानीको बहाव बढ्दै गएको कारण धौलीगङ्गा जलविद्युत परियोजनाको ड्याम भरिने खतरा बढेको छ।
नदीमा पानीको बहाव बढेपछि परियोजनाको बाँधको ढोका जुनसुकै बेला खोलिने भएको छ। भारतीय विद्युत निर्माता एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावरस्टेशनले ड्याम जुनसुकै बेला पनि खोल्न सकिने भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्रचार गरेको थियो।
सोही पत्रलाई अधार मान्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले बिहीबार सूचना जारी नदी तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
भारतले निर्माण गरेको परियोजनास्थल भन्दा तल नेपालको व्यास गाउँपालिकाको धौलाकोट, दुहुँ, महाकाली, मालिकार्जुन र लेकम गाउँपालिकाका बस्तीहरु पर्छन्। सो क्षेत्रका नागरिकलाई महाकाली नदी किनारमा नजान प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले सूचना मार्फत आग्रह गरेका छन्।
विसं ०७० सालको बाढीका बेला परियोजनाको ड्यामबाट आएको पानीले दार्चुलाको अधिकांश भूभाग बगाएको थियो। पछिल्लो समय नेपालले विरोध जनाए पछि भारतले धौलीगङ्गामा पानी बढ्ने बेला जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्रचार गर्ने गरेको छ।रासस