महोत्तरी, जलेश्वर नगरपालिका –३ मलिवाराका कोरोना संक्रमित ८६ वर्षीय पुरुषको आज बिहान मृत्यु भयो। होम आइसोलेशनमै मृत्यु भएका उनको शव व्यवस्थापनका लागि आफन्तले जिल्ला प्रशासन कार्यालय, प्रहरी र सेनालाई खबर गरे। शव व्यवस्थापनमा नेपाली सेनाका महिला सैनिक खटिए।
जिल्ला प्रशासन कार्यालयका अनुरोधमा जलेश्वरस्थित नेपाली सेनाको रणभीम गणबाट महिला सैनिक टोलीले मलिवारास्थित रातो नदीमा हिन्दू परम्परानुसार शव व्यवस्थापन गरेको गणपति प्रमुख सेनानी शिवहरि केसीले बताए।
महोत्तरीमा कोरोना संक्रमितको शव व्यवस्थापनमा यसअघि पुरुष सैनिक मात्रै खटिँदै आएकामा अब महिला सैनिक पनि खटिन थालेका हुन्।
रणभीम गणले पहिलो पटक सहसेनानी आरती राना मगरका नेतृत्वमा पाँच महिला सैनिकलाई संक्रमितको शव व्यवस्थापनमा खटाएको हो।
मृत्यु हुनेको संख्या बढेपछि महिला सैनिक टोलीलाई यो काम गर्न भ्याइनभ्याइ छ। होम आइसोलेशनमा मृत्यु भएकाहरूको प्लाष्टिक वा डेथ बडी ब्यागमा बेर्ने गर्ने काम उनीहरुले गर्छन्। जोखिमपूर्ण मानिएको सो काममा उनीहरु आफैंँ खटिने मात्रै होइन संक्रमितको शव कसरी व्यवस्थापन गर्ने भनी स्वास्थ्यकर्मीलाई तालीम पनि दिन्छन्।
महोत्तरीमा आजसम्म मृत्यु भएका ४६ मध्ये १३ जनाको शव व्यवस्थापन गणले शव व्यवस्थापन कार्यविधि २०७७ अनुसार गरेको रणभीम गणले जनाएको छ। प्रमुख सेनानी केसीले पुरुष, महिला तथा बालबालिकाको शव व्यवस्थापनका लागि तालिमप्राप्त महिला सैनिक खटाइएको बताए। रासस