तनहुँ उद्योग वाणिज्य सङ्घको सक्रियतामा स्थापना गरिएको कोभिड सङ्कट व्यवस्थापन महाअभियान कोषमा रु.आठ लाख ९८ हजार ७२७ सङ्कलन भएको छ।
कोभिड–१९ को दोस्रो लहरको नयाँ भेरियन्ट देखिएपछि सङ्घले स्वास्थ्य सामाग्री खरिद लगायतका क्षेत्रमा सहयोग गर्ने उद्देश्यले सो अभियान थालेको हो।
यसअघि रु.आठ लाख ४२ हजार ७३७ सङ्कलन भएकोमा शुक्रबार मात्रै रु.५५ हजार नौ सय ९० थपिएको सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
सङ्घले थालेको अभियानमा व्यापारी, विभिन्न संस्था, देश विदेशमा रहेका नेपालीले खुलेर सहयोग गरेका कारण काम गर्न हौसला मिलेको अध्यक्ष श्रेष्ठले बताए।
पूर्वमन्त्री भण्डारीद्धारा आर्थिक सहयोग
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले स्वास्थ्य सामाग्री खरिदका लागि रु. एक लाख एक हजार एघार रुपैयाँ सहयोग गरेका छन्।
नेता भण्डारीले पठाउनुभएको उक्त रकम कांग्रेस व्यासनगर कार्य समितिका सहसचिव डम्बर अधिकारीले शुक्रबार जिल्ला सचिव विश्व बास्तोला र सहसचिव केशबहादुर सुनारलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन्।
उक्त रकमबाट स्वास्थ्य सामाग्री खरिद गरी जिल्लाका विभिन्न अस्पताल र आइसोलेसन कक्षहरुमा सामाग्री हस्तान्तरण गर्न पूर्वमन्त्री भण्डारीले आग्रह गरेका छन्।
त्यसैगरी सांसद कृष्णकुमार श्रेष्ठ किसानले जिल्लाको बन्दिपुर स्थित बन्दिपुर अस्पताल, भानु स्थित पुरनडिही अस्पताल, दमौली स्थित दमौली अस्पताल र शुक्लागण्डकी स्थित जिपी कोइराला श्वास प्रश्वास उपचार केन्द्रमा अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए। रासस