पत्रकारलाई निःशुल्क परामर्श दिइने

कर्णाली प्रदेश अस्पताल सुर्खेतका बालरोग विशेषज्ञ डा नवराज केसी र जनरल फिजिसियन डा प्रदीप न्यौपानेले कोरोना सङ्क्रमित पत्रकारलाई निःशुल्क परामर्श सेवा दिने भएका छन्। 

आज नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश र चिकित्सकद्वय बीच कर्णालीका १० वटै जिल्लाका कोरोना सङ्क्रमित पत्रकार र उनीहरुका परिवारलाई निःशुल्क परामर्श सेवा दिने गरी सम्झौता भएको हो। 

कोरोना सङ्क्रमणका कारण दिनप्रतिदिन पत्रकार सङ्क्रमित हुन थालेपछि सङ्क्रमित पत्रकार र उनीहरुको परिवारको उपचारमा सहयोग पुर्याउने उद्देश्यले महासङ्घको पहलमा सम्झौता गरिएको हो। 

डा केसी र न्यौपानेले नयाँ भेरियन्टको कोरोना भाइरसको सङ्क्रमण रहुन्जेल पत्रकारसहित परिवारको स्वास्थ्य अवस्था, उपचार र त्यसबाट बच्न अपनाउनुपर्ने उपाय, आइसोलेशनमा रहँदा ध्यान दिनुपर्ने कुराबारे निःशुल्क परामर्श दिनेगरी सम्झौता भएको महासङ्घका अध्यक्ष देवीराम देवकोटाले जानकारी दिए। 

'सम्झौताअनुसार सङ्क्रमित पत्रकारसहित परिवारका सदस्यले डा केसी र न्यौपानेलाई फोन गरी आफूलाई देखिएको समस्याबारे कुरा राख्नेछन्, जसको समाधानका लागि फोनमार्फत र भौतिक भेटेर आवश्यक परामर्श सेवा डा द्वयले दिनुहुनेछ' अध्यक्ष देवकोटाले भने। 

डा केसी र न्यौपानेले कोरोना महामारीको अवधिभर यहाँका सङ्क्रमितको उपचारमा विशेष भूमिका निर्वाह गर्दै आएका छन्। रासस 

प्रकाशित मिति: : 2021-05-22 15:37:00

प्रतिकृया दिनुहोस्