निषेधाज्ञाले रोकियो विमानस्थल र बसपार्कको कालोपत्रे

निर्माणको अन्तिम चरणमा पुगेका बागलुङका दुई ठूला आयोजनाको काम प्रभावित बनेको छ।

पूर्वाधार निर्माण सम्पन्न भई कालोपत्रेको मात्रै काम रहेको बलेवा विमानस्थल र बागलुङ बसपार्कको कालोपत्रे गर्ने काम रोकिएको छ।

जिल्लामा अन्य निर्माण कार्य निर्वाधरूपमा भइरहे पनि दुई आयोजना निषेधाज्ञा भन्दै रोकिएका छन्। वैशाखमै कालोपत्रे गर्ने भनिएको बलेवा विमानस्थलको धावनमार्ग र आधुनिक बागलुङ बसपार्कको काम अहिले रोकिएको निर्माण व्यवसायीले बताएका छन्।

दुवै आयोजना अक्पार्ड प्रविधिबाट कालोपत्रे गरिने भए पनि प्लान्ट नपाउँदा कालोपेत्रमा समस्या भएको निर्माण कम्पनीको दाबी छ।

जिल्लामा निर्माण कार्य स्वास्थ्य मापदण्ड पूरा गरेर गर्न जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिले निर्देशन दिएको छ तर निर्माण सामाग्री समयमा नपाइएको तथा अन्य आवश्यक उपकरण र सामाग्री निषेधाज्ञाका कारण मुल्य वृद्धि भएकाले दुई ठूला आयोजनाको काम अन्तिम अवस्थामा आएर रोकिएका हुन्।

जिल्लाको भविष्यसँग जोडिएका बलेवा विमानस्थल तथा बागलुङ बसपार्क अन्तिम चरणमा पुगेर रोकिनु दुःखद् भएको स्थानीयवासी बताउँछन्। प्लान्ट जडानमा ढिलाइ हुँदा समयमै कालोपत्रे गर्न नसकिएको विमानस्थल कालोपत्रेको जिम्मा पाएको काष्ठमाण्डप निर्माण सेवाका प्रतिनिधि बासु थापाले बताए।

म्याग्दी जाने सडक छेउमा अक्पार्ड प्रविधिको कालोपत्रे गर्ने सामग्री उत्पादनको प्लान्ट निर्माण भइरहेकाले केही ढिलाइ भएको थापाको भनाइ छ। प्लान्ट निर्माण हुनासाथ १० दिनमै विमानस्थलको धावनमार्ग कालोपत्रे सकिने थापाको दाबी छ। 

प्रकाशित मिति: : 2021-05-24 07:12:00

प्रतिकृया दिनुहोस्