दुर्गा प्रसाईद्वारा डा. केसी अभियानका मिडिया संयोजकलाई आक्रमणको धम्की

झापास्थित प्रस्तावित बीएण्डसी मेडिकल कलेजका सञ्चालक तथा प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र दुर्गा प्रसाइँले डा. गोविन्द केसी अभियानका मिडिया संयोजक प्रितम सुवेदीलाई फोन गरेर भौतिक आक्रमणको धम्की दिएका छन्।

उनले भनेका छन्, ‘तँलाई भेटें भने तीन इन्ची सर्ने गरी हान्दिन्छु’। साथै उनले बाबु, आमा र बहिनीको नाम लिँदै सुवेदीलाई ‘डाँँका’लगायतका अपशब्द बोलेका छन्।

केही दिन अगाडि काठमाडौं विश्वविद्यालयले चोर बाटोबाट अवैध रुपमा उनको मेडिकल कलेजलाई सम्बन्धन दिने प्रयास गरेको भन्दै डा. केसीको अभियानका तर्फबाट प्रेस विज्ञप्ति जारी भएको थियो। लगत्तै उनले सुवेदीलाई फोन गरेर धम्क्याएका हुन्। उक्त कुराकानीमा प्रसाइँले आफ्नो अस्पतालमा कोभिडका बिरामीलाई दुई लाख रुपैयाँ धरौटी राखेर मात्रै उपचार गर्ने गरेको पनि स्वीकारेका छन्।

बीएण्डसी मेडिकल कलेजलाई अनुकुल हुने गरी तत्कालीन नेकपा सरकारले २०७५ मा जबर्जस्ती चिकित्सा शिक्षा ऐन जारी गरेको थियो। त्यसैका आधारमा आफूले सम्बन्धन पाउनुपर्ने दाबी प्रसाइँले गर्दै आएका छन्। तर २०७३ साल यता आशयपत्र नवीकरण नगरेकाले शिक्षण संस्थाका रुपमा उक्त कलेजको कानुनी हैसियत शुन्य भएको र सम्बन्धन लिने हो भने चिकित्सा शिक्षा ऐन र नियमावली अनुसार प्रक्रिया  पुर्याएर आउनु पर्ने अडान चिकित्सा शिक्षा आयोगले लिंदै आएको छ।

तर, प्रसाइँले प्रक्रिया पुर्याउनको सट्टा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले सम्बन्धनका लागि घुस मागेको भनेर फर्जी आरोप लगाएका थिए। डा. गिरीले उनीविरुद्ध गाली बेइज्जती मुद्दा हालेपछि उनी आरोप पुष्टि गर्न नसकेर केही समय भुमिगत समेत भएका थिए। एउटा पत्रकार सम्मेलनमा उनले भनेका थिए, ‘बंगलादेशमा एमबिबिएस पढ्न गएका नेपाली चेलीलाई प्रोफेसरहरूले करणी गरेर राखेका छन्। बंगलादेश पढ्न गएका केटाहरू पाँच वर्षमा एमबीबीएस पास गरेर आउँछन्, हाम्रा चेलीबेटीहरू किन ९ वर्षसम्म आउँदैनन् ?’

त्यसअगाडि प्रसाइँले नेकपा नेता योगेश भट्टराईसँग मिलेर डा. गोविन्द केसी सत्याग्रहका विरुद्ध एक जना अपराधीलाई ‘काउन्टर’ अनशनकारीका रुपमा खडा गरेका थिए। उही अपराधीले पछि गएर सत्तारुढ नेता तथा दलीय भागवण्डामा नियुक्त भएका त्रिवि पदाधिकारीको स्वार्थ अनुसार अनियमितता हुन नदिने आइओएमका तत्कालीन डिनलाई कालोमोसो लगाएको थियो। 

तत्कालीन एमालेका अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई मार्सी भात ख्वाएर पार्टी एकता गराएको भनेर दाबी गर्ने प्रसाइँ नेकपाको विवाद र फुटको बेला ओलीको पक्षामा खुलेर लागे। प्रधानमन्त्री ओलीकै आडमा उनले चिकित्सा शिक्षा आयोगलाई लत्याएर केयुमार्फत सम्बन्धन लिने प्रयास गरेका थिए। त्यही सिल्सिलामा उनले सुधार अभियन्ता तथा डा. केसी अभियानका मिडिया संयोजक सुवेदीलाई धम्क्याएका हुन्।

प्रकाशित मिति: : 2021-05-24 08:20:00

प्रतिकृया दिनुहोस्