श्रम सङ्गठनको क्षमता विकासका लागि बजेट विनियोजन गर्न माग

नेपाल ट्रेड युनियन काङ्ग्रेसले श्रम सङ्गठनको क्षमता विकासका लागि बजेट विनियोजन गर्न माग गरेको छ।

युनियनले विश्वव्यापीरूपमा नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण बढ्दै गएको भन्दै आर्थिक वर्ष २०७८/०७९ मा कोरोनाले तहसनहस पारेको अर्थतन्त्र जोगाउँदै श्रमिकको समस्या समाधान गर्ने खालको बजेट ल्याउन आइतबार अर्थमन्त्रीसमक्ष माग गरेको हो।

युनियनका अध्यक्ष पुष्कर आचार्यले कम आय भएका श्रमिक तथा स्वरोजगारहरुलाई आयकरलगायत अन्य कर र कर्जाको ब्याज मिनाहा गर्नुपर्ने बताए ।

“कोरोना भाइरसको अग्रमोर्चामा खटिएका श्रमिकलाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार पिपिइलगायत स्वास्थ्य उपकरणका साथै बीमा र प्रोत्साहन सुविधा व्यवस्था गर्नुपर्छ”, उनले भने।

यस्तै युनियनले साना तथा मझौला घरेलु उद्योग, कृषि तथा कृृषिजन्य उद्योगको विकास र विस्तार गरी नयाँ रोजगारी सिर्जना गर्न विशेष कार्यक्रम ल्याउनुपर्ने, शिक्षकलगायत सम्पूर्ण श्रमिकलाई छिटोभन्दा छिटो निःशुल्क कोभिड खोप दिलाउने व्यवस्था गर्नुपर्ने, राष्ट्रसेवक कर्मचारीको पारिश्रमिकलगायतको आय करको सीमा वृद्धि गरी कम्तीमा पनि रु सात लाख कायम गर्नुपर्ने बताएको छ।

युनियनका उपाध्यक्ष अजयकुमार राईले ट्रेड युनियन र व्यावसायिक सङ्घ, सङ्गठनको समेत प्रतिनिधित्व हुने गरी एक अधिकार सम्पन्न रोजगार प्रवद्र्धन बोर्डको स्थापना गर्नुपर्ने बताएका छन्। 

प्रकाशित मिति: : 2021-05-24 09:39:00

प्रतिकृया दिनुहोस्