निषेधाज्ञाको मौका छोपी वन तस्कर सल्बलाए

शङ्खर पहाडी
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड­ १९) सङ्क्रमणका कारण चारैतिर निषेधाज्ञाले आवागमन पातलिएपछि सर्लाहीका वनहरुमा तस्कर र शिकारीको बिगबिगी बढेको छ। जिल्लाको वनक्षेत्रमा वन तस्कर र शिकारीले निषेधाज्ञाको मौका छोपी तस्करी सिकारी बढाएका छन्।

जिल्लाको लालबन्दी, इश्वरपुर, हरिपुर्वा र वरथवा नगरपालिका क्षेत्रमा पर्ने वनमा केही दिनदेखि तस्कर र शिकारीको चहलपहल बढेको वनक्षेत्र नजीकका बासिन्दाले बताएका छन्।

जिल्लामा गत वैशाख २५ गतेदेखि जारी निषेधाज्ञाको अवधि यही जेठ १० गतेसम्मलाई बढाइएको छ। निषेधाज्ञाको मौका छोपी वन क्षेत्रमा तस्कर र शिकारीले जङ्गली जनावर र वनजन्य पदार्थको चोरी शिकारी गर्ने गरेको बताइएको छ। 

सर्लाही र महोत्तरीको सीमाक्षेत्रका जङ्गलमा नीलगाई, बँदेल, हरिण, मृग र दुम्सीसहितका वन्यजन्तु तथा वनकुखुरा (लुइँचे) र कालिजसहितका पक्षी बाक्लै पाइन्छ। दिनहुँ बँदेल, हरिण, मृग, दुम्सी, निल गाईलगायत वन्यजन्तुको शिकार हुने गरेको वनसँगै जोडिएको बस्तीका बासिन्दाको भनाइ छ। वैशाख ३० गते साँझ शिकारीले निल गाई मारी छाला काट्दै गर्दाको अवस्थामा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको थियो। 

इश्वरपुर नगरपालिका­४ सागरनाथ वन क्षेत्रबाट हतियारसहित वन पसेका शिकारीको  प्रदेश नं.२ ०२ ०३२ प २५२२ नम्बरको मोटरसाईकल र बिआर ३० यु ४६७७ नम्बरको भारतिय नम्बरका दुईवटा मोटरसाइकलसहित तीन नाल भरुवा बन्दुक, त्यसमा लाग्ने फलामको बारुद इलाका प्रहरी कार्यालय केशरगन्ज, बयालवास र प्रहरी चौकी फुलजोरको प्रहरी टोलीले बरामद गरेको थियो।

सो क्रममा शिकारका लागि वन पसेका शिकारी र प्रहरीबीच दोहोरो गोली हानाहान समेत भएको इलाका प्रहरी कार्यालय केशरगन्ज, बयालवासका प्रहरी प्रमुख प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले बताए। उनका अनुसार त्यस क्रममा शिकारीले तीन राउण्ड हवाई फाएर गरेको र जवाफमा प्रहरीले दुई राउण्ड हवाई फाएर भएको थियो। 

प्रहरीले फाएर गरेपछि शिकारीहरुले भरुवा बन्दुक छोडेर भागेका भएपनि इश्वरपुर नगरपालिका­४ का शिकारी रणबहादुर गोलेलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक खोजतलास र थप अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए। शिकार गर्न गएका चारमध्ये बाँकी तीनजना भाग्न सफल भएको र उनीहरुको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ।

वन क्षेत्रमा तस्कर र शिकारीको चहलपहल बढेपछि नजीकका बासिन्दा डराएका छन्। तस्कर र शिकारीले आपूmहरुसँग कसैलाई पोल लगाए कुटपिट गर्ने धम्कीसमेत दिने गरेका सर्वसाधारणको भनाइ छ। वनक्षेत्र नजीकका बासिन्दाले व्यापक रुपमा गस्ती बढाउन माग गरेका छन्।

डिभिजन वन कार्यालयका डिभिजन वन अधिकृत माधवप्रसाद देवले शिकारीले गतिविधि बढाएको स्वीकार गर्दै वन सुरक्षा गस्तीलाई सक्रिय बनाइएको बताए।

कार्यालयले लालबन्दी, इश्वरपुर, हरिपुर्वा र वरथवा नगरपालिका क्षेत्रका वनमा सघन गस्तीका लागि आफ्नै अधिकृतको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय प्रशासनको समन्वयमा सुरक्षाकर्मी परिचालित गरिएको उनले बताए। 

निषेधाज्ञा घोषणापछि वनमा शिकारी र काठ तस्कर नपसेको डिभिजन वन कार्यालयको दाबी छ। पछिल्ला दिनहरुमा वनका कुनै रूख नकाटिएको र वन्यजन्तुको विचरण पनि राम्रो रहेको सव­डिभिजन वन कार्यालय लालबन्दीका प्रमुख उज्वलकुमार यादवले बताए।  

यसबीचमा डिभिजन कार्यालय मातहतका जिल्लाका छ वटा सब­डिभिजन कार्यालयमध्ये सघन वनक्षेत्रसँग जोडिएका पाँच कार्यालयले आफ्ना क्षेत्रभित्रका सामुदायिक वन उपभोक्ता समितिको तत्परतामा वन संरक्षण समन्वय संयन्त्र गठनसमेत गरेका छन्। 

पाँच सब­डिभिजन मातहतका ८२ वटा सामुदायिक वन उपभोक्ता समितिले आ–आफ्ना क्षेत्रभित्र बनाएका संयन्त्रको खबरदारीले पनि तस्कर वन पस्न डराएका डिभिजन वन कार्यालयको भनाइ छ। 

जिल्लामा  करीब एक लाख २५ हजार ९४८ हेक्टर क्षेत्रफलमध्ये २९ हजार ७३६.१ हेक्टर वन क्षेत्र रहेको छ। यसमध्ये चुरे क्षेत्रमा पर्ने १३ हजार ८६८ हेक्टर, तराई वन क्षेत्र १५ हजार ४९४ हेक्टर, सागरनाथ वन विकास परियोजनाको छ हजार ६६९ दशमलव १५ हेक्टर वन क्षेत्र रहेको छ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी राकेश रञ्जन दासका अनुसार कार्यालयकै विशेष तालीम प्राप्त सशस्त्र सुरक्षाकर्मीहरुको तीनवटा बेश रहेको र तिनमा २१ सुरक्षाकर्मी परिचालित छन् भने भने वनका कर्माचारीहरु सहित ७० जना सुरक्षा गस्ती टोली पालो/पालो गस्तीमा जाने गर्दछन्। सामुदायिक वन उपभोक्ता समितिले सब­डिभिजन क्षेत्रमा संयन्त्र गठन गरेर सक्रियता बढाएपछि तस्कर डराएको उनी बताउछन्। 

यसअघि गत चैत तेस्रो साताको शुरुदेखि वैशाखसम्म भने वनमा वन्यजन्तुको चोरी शिकार र रूख कटान भइरहेको पाइएको थियो। सो अवधिमै वन सुरक्षा गस्तीले करीब २६ दशमलव १५ क्युविक फिट साल र सिसौका काठ विभिन्न ठाउँबाट बरामद गरेको थियो। 

त्यसै अवधिमा टेम्पु, ट्याक्टर र साइकलसहितका काठ ओसार्न प्रयोग गरिएका सवारी साधन र चार जनालाई सुरक्षा गस्ती टोलीले पक्राउ गरेर कारवाही प्रक्रिया बढाइसकेको सूचना अधिकारी दासले जानकारी दिए। यसै अवधिमा नीलगाई, बँदेल, हरिण, मृग र दुम्सीसहितका वन्यजन्तु तथा वनकुखुरा (लुइँचे) र कालिजसहितका वन्यजन्तुको उद्धार गरिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ। रासस 

प्रकाशित मिति: : 2021-05-24 13:36:00

प्रतिकृया दिनुहोस्