परिवारमा बज्रपात : पति र सासूससुरालाई कोरोनाले लग्यो, आइसोलेसनमा रहेकी पत्नी अझै बेखबर !

रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १० को एक परिवारमा कोरोनाले ठूलो बज्रपात निम्त्याएको छ। 

बुटवल–१० कालिकानगरको उक्त परिवारमा ८ दिनको अन्तरमा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ६९ वर्षिय नरबहादुर गुरूङ, उनकी श्रीमती ५९ वर्षीया मनसरा र ३९ वर्षका छोरा प्रेमबहादुर गुरुङ रहेका छन्। 

नरबहादुर र प्रेमको उपचारका क्रममा भैरहवास्थित युनिर्भसल कलेज अफ मेडिकल साइन्स भैरहवाको मृत्यु भएको हो।

‘होम आइसोलेसनमा बसेकी मनसराको जेठ ५ गते मृत्यु भयो,’ वडाध्यक्ष तथा छिमेकी पदमबहादुर थापाले लोकान्तरसँग भने, ‘छोरा प्रेमको जेठ ७ गते र नरबहादुरको हिजो (१२) गते निधन यो। अहिले बुटवल १० शोकमा डुबेको छ।’

थापाले थपे, ‘प्रेमकी श्रीमतीलाई पनि कोरोना संक्रमण भएर बुटवल एन्फा टेक्निकल सेन्टरको आइसोलसनमा राखिएको छ। परिवारमा परेको त्यो बज्रपात उनलाई अहिलेसम्म सुनाइएको छैन। कसरी सुनाउने होला अन्योलमा छौं। तर, नभनी सुख छैन।’

 समयमा उपचार गरिए पनि बचाउन नसकिएको थापाले बताए। 

‘ठूलो जोडबल गरेर आईसीयूमा भर्ना गरिएको हो। समयमै अस्पताल पनि पुर्‍याइएको हो। तर, बचाउन सकिएन। विपन्न परिवारलाई नै कोरोनाले चुडेर लग्यो,’ थापाले भने।  

प्रेमले बुटवल एक दालमोठ उद्योगको गाडी चलाउँथे। परिवारमा जेठ ३ गते कोरोना संक्रमण देखिएको थियो। बुटवलमा अहिले कोरोना संक्रमण तीव्ररूपमा फैलिएको छ।

प्रकाशित मिति: : 2021-05-27 17:15:00

प्रतिकृया दिनुहोस्