मालीको संवैधानिक अदालतद्वारा उपराष्ट्रपतिलाई अन्तरिम राष्ट्रपति घोषणा

Photo - panxmedia.blogspot.com
Photo - panxmedia.blogspot.com

मालिको संवैधानिक अदालतले उपराष्ट्रपति कर्णेल अस्सिमी गोइतलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेको छ।

एक हप्ता अगाडि अन्तरिम राष्ट्रपति र प्रधानमन्त्रीलाई सेनाले पक्राउ गरेर नियन्त्रणमा राखेको थियो। उनीहरुलाई राजधानी बामाको नजिकै रहेको एक सैन्य कार्यालयमा राखिएको जनाइएको छ।

उनीहरुले कानूनको उल्लङ्घन गरेकाले उनीहरुलाई पदबाट हटाइएको उपराष्ट्रपति गोइतले मङ्गलबार बताएका थिए। उनले नै देशको सैनिक परिषद्को नेतृत्व गरेका छन्। त्यसैले नै शासन गर्ने जनाइएको छ।

“अर्को व्यवस्था नभएसम्मका लागि उपराष्ट्रपतिले नै अन्तरिम राष्ट्रपतिको रुपमा देशको नेतृत्वदायी जिम्मेबारी निर्वाह गर्नुहुनेछ, उहाँकै नेतृत्वमा सरकार सञ्चालन हुनेछ”, अदालतद्वारा जारी आदेशमा उल्लेख गरिएको छ।

संयुक्त राष्ट्रसङ्घले भने राष्ट्रपति र प्रधानमन्त्रीलाई गिरफ्तार गरिएको घटनाप्रति आपत्ति जनाएको छ। उसले उनीहरुलाई बिनाशर्त तत्काल रिहा गर्न पनि माग गरेको छ।

“जसले उहाँहरुलाई नियन्त्रणमा राखेका छन्, उनीहरुले नै यसबारेमा तत्काल जवाफ दिनेछन् भन्ने हामीले विश्वास लिएका छौँ”, राष्ट्रसङ्घीय उच्च अधिकारीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।

अफ्रिकी विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुसँग आफूहरु निरन्तर निकट सम्पर्कमा रहेको र मालिमा उत्पन्न सङ्कटलाई सकारात्मक तरिकाले अन्त्य गर्न प्रयास गरिरहेको पनि राष्ट्रसङ्घीय अधिकारीले जनाएका छन्। अफ्रिकी मुलुक मालिमा लामो समयदेखि राजनीतिक सङ्कट गहिरिँदै गएको छ। रासस/एएनआई

प्रकाशित मिति: : 2021-05-29 17:40:00

प्रतिकृया दिनुहोस्