कोभिड उत्पत्ति: चीनको वुहानको प्रयोगशालाबाट कोरोना भाइरस 'चुहिएको' दाबी फेरि किन चर्चामा छ?

चीनको वुहान सहरमा कोभिड-१९ देखा परेको झन्डै डेढ वर्षपछि कोरोनाभाइरसको उत्पत्तिबारे रहस्य अझै विद्यमान छ।

तर केही सातायाता चिनियाँ प्रयोगशालाबाट यो भाइरस चुहिएको हुनसक्ने विवादास्पद दाबी पुन: चर्चामा आएको छ।

त्यो पुरानै दाबी हो जसलाई धेरैले यसअघि एउटा सतही "षड्यन्त्रको सिद्धान्त" का रूपमा खण्डन गरेका थिए।

अहिले अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोनाभाइरसको उत्पत्तिबारे गरिएको सम्भावित दाबीको सेरोफेरोमा आकस्मिक अनुसन्धान गर्ने घोषणा गरेका छन्।

हामीलाई यी दाबीहरूबारे के थाहा छ र यो बहस किन महत्त्वपूर्ण छ?

'प्रयोगशालाबाट चुहिएको' सिद्धान्त के हो?

पहिलो पटक कोरोनाभाइरस देखा परेको मध्यचीनको वुहानमा अवस्थित एउटा प्रयोगशालाबाट दुर्घटनावश वा अन्य कारणबाट कोरोभाइरस फुत्किएको हुनसक्ने एउटा शङ्काका आधारमा यस्तो दाबी गरिएको देखिन्छ।

यस सिद्धान्तका समर्थकहरूले उक्त सहरमा रहेको एउटा मुख्य जैविक अध्ययन केन्द्रतर्फ औँला ठड्याउँएका छन्।

वुहान इन्स्टिट्यूट अफ भाइरलजीले एक दशकभन्दा बढी समयदेखि चमेरामा कोरोनाभाइरसको अध्ययन गरिरहेको छ।

उक्त प्रयोगशाला विभिन्न प्रजातिका जीव र माछा एवं तिनका मासु पाइने एउटा बजारभन्दा केही किलोमिटर मात्र पर छ।

प्रकाशित मिति: : 2021-05-29 18:14:00

प्रतिकृया दिनुहोस्