लुम्बिनी प्रदेश: राष्ट्रियसभाको उपनिर्वाचन हुदै

File Photo
File Photo

लुम्बिनी प्रदेश अन्तर्गतको राष्ट्रियसभाको उपनिर्वाचन आज हुदै छ।

उपनिर्वाचनमा दुईजनाले उम्मेदवारी दिएका छन्। नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवारी दिएका हुन्।

निर्वाचनका लागि सबै तयारी पूरा भइसकेको निर्वाचन आयोगले जानकारी दिएको छ।

दाङको कर्मचारी मिलन केन्द्रमा आज बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्मका लागि समय निर्धारण गरेको छ। 

लुम्बिनीमा जसपाका चार सांसदले पनि भोट हाल्न पाउने

लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी(जसपा)बाट मन्त्री बनेका चार जना सांसदले पनि सोमबार हुने राष्ट्रियसभाको उपनिर्वाचनमा मतदान गर्न पाउने भएका छन्।

पार्टीले प्रदेश सांसदबाट हटाएका ४ जनालाई मतदान सुरू हुनु १६ घन्टाअघि निर्वाचन आयोगले मतदानको अधिकार दिएको हो।

लुम्बिनी प्रदेशमा ८३ जना प्रदेश सभा सदस्यले मताधिकार पाएका छन्। गाउँपलिकाका अध्यक्ष–उपाध्यक्ष, नगरपालिकाका प्रमुख–उपप्रमुख २१७ जनागरी जम्मा ३०० मतदाताले निर्वाचनमा भाग लिन पाउने छन्।

यसअघि जसपाको एक समूहले सांसदहरू कल्पना पाण्डेय, सन्तोषकुमार पाण्डेय, सुमन शर्मा रायमाझी र विजयवहादुर यादवलाई कारबाही गरेको थियो। उनीहरू मुख्यमन्त्री शंकर पोखरेलको सरकारमा मन्त्री छन्।

निर्वाचनको अन्तिम नामावली प्रकाशन भइसकेकाले उनीहरूले मतदान गर्न पाउने–नपाउने अन्यौल थियो। तर, आयोगले निर्वाचनको अघिल्लो दिन ४ जनाले पनि मतदान गर्न पाउने निर्णय गरेको हो। उक्त सुचना प्रदेश निर्वाचन कार्यालयमा टाँसिएको छ।

उक्त निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनकातर्फबाट दृगनारायण पाण्डे उमेदवार छन्। निर्वाचनको समय बिहान ९ बजेदेखि दिउँसो ३ बजेका लागि तोकिएको छ। निर्वाचनको नतिजा भर्चुअल माध्यमबाट भोलि नै सार्वजनिक गरिने सहायक निर्वाचन अधिकृत निमराज भट्टराईले जानकारी दिए।

प्रकाशित मिति: : 2021-05-31 07:11:00

प्रतिकृया दिनुहोस्