रावतबाडामा २१ जनाले एकैपटक काेराेना जितेपछि गाउँले खुसी

जुम्लाको तातोपानी -६ रावतबाडा गाउँमा एकैपटक २१ जनाले कोरोना जितेर घर फर्किएएका छन्। अधिकांश गाउँलेलाई कोरोना लागेपछि निराश भएको गाउँमा खुसियाली छाएकाे छ।

त्रास फैलिएपछि एक साताका लागि गाउँ नै सील गरिएको थियो। संक्रमित सबै गाउँपालिकाले बनाएको संस्थागत आइसोलेसनमा बसेका थिए।

गाउँले कोरोनाले कसैको ज्यानमा तलमाथि नहोस् भनेर प्रार्थना गरिरहेका थिए। एकै पटक २१ जनामा कोरोना संक्रमण भएपछि गाउँमा सन्नाटा छाएको थियो। तर संक्रमित निको भएर लर्को लागेर घर फर्किँदा निकै खुसी तातोनापानी गाउँपालिका स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंले बताए।

'एकै पटक २३ जना निको भएर घर फर्किँदा निकै खुसी भएको बताउँछन्, 'उनले भने, 'धमाधम गाउँमा संक्रमित भेटिन थालेपछि निकै चिन्तित थियौं। अब निको भएर घर फर्कने लहर सुरु भएकोले उत्साहित छौं।'

कोभिड अस्पतालमा रहेको आइसोलेसनबाट एकैदिन तातोपानी ६ का २१ जना र तातोपानी ७ का २ जना संक्रमित कोरोना जितेर घर फर्किएको उनले बताए।

कोरोना जितेर घर फर्किने संक्रमितको गाउँपालिकाले भव्य रुपमा बिदाइ गरेको थियो। संक्रमण देखिदा आइसोलेसनमा आउन मानिरहेका थिएनन्। तर निको भएर घर फर्कँदा गाउँपालिकाले गरेको व्यवस्थापनको प्रशंसा भइरहेको थियो।

आइसोलेसनमा बस्दा आफ्ना पनि सुरक्षा हुने र आफन्तको पनि सुरक्षा हुने भन्दै आइसोलेशन बनाउने काम निकै प्रभावकारी भएको अनुभुती एक संक्रमितले सुनाए।

तातोपानी गाउँपालिकाले ४७ जना संक्रमितलाई आइसोलेशनमा राखेको थियो। गास र बासको व्यवस्था गर्नुका साथै निरन्तर स्वास्थ्यकर्मी तथा चिकित्सकको निगरानीमा राखेको स्वास्थ्य संयोजक चौलागाईंले थपे।

'आइसोलेसनमा हरेक दिन जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी पुगेर स्वास्थ्य परिक्षण गर्ने, भरोसा दिने र व्यवस्थापनमा देखिएको अभाव परिपुर्ति गर्ने गरिएको थियो,' उनले थपे, 'ठुलो संख्यामा संक्रमित आइसोलेसनमा राखेर औषधि उपचार, निगरानी राख्ने तातोपानी पहिलो गाउँपालिका हो।'

जिल्लाका एक नगरपालिकासहित ७ गाउँपालिकामा आइसोलेशन सेन्टर बनेपनि प्रयोगमा आउन सकेनन्। तर तातोपानी गाउँपालिकामा संक्रमितको घरघरमा पुगेर आइसोलेसनमा बस्नको लागि प्रेरित गरिएको थियो।

उपाध्यक्ष गंगादेवी उपाध्याय बल्ल जनप्रतिनिधि भएको अनुभुति भएको बताउँछिन्। 'कोरोनाले जनजीवन अस्तव्यस्त छ। आइसोलेसनमा आउन नमान्दा निकै चुनौति रह्यो,' उनले भनिन्, 'तर आइसोलेसनबाट निको भएर घर फर्कदा सबै दुख बिर्सीए। मनमा खुसिनै छायो।'

निको भएर घर फर्कने संक्रमितलाई गाउँपालिकाले होमआइसोलेसनमा बसेर उच्च सावधानी अपनाउन सुझाव दिएको छ। घरमा गएर मास्क लगाउने, सामाजिक तथा व्यक्तिगत दुरी कायम गर्ने, सेनिटाइजरको प्रयोग गर्ने, साबुनपानीले नियमित हातधुने र शंकास्पद लक्षण देखिने बित्तिकै स्वास्थ्यकर्मीको सम्पर्कमा आइहाल्न आग्रह गरेको जनाएको छ।

गाउँमा कोरोना लक्षणका बिरामी देखिन वित्तिकै स्वास्थ्यकर्मी लिएर वडाध्यक्ष विशाल खड्का गाउँ पुगेका थिए। उनले गाउँपालिका स्वास्थ्य शाखा समन्वय गरेर पिसिआर परिक्षणका लागि पहल गरे।

'गाउँमा कोरोना फैलँदा स्वभाविक रुपमा त्रास त थियो नै तर कोरोना परिक्षण गरेर संक्रमितको स्वास्थ्य सुरक्षाका लागि निकै चासो थियो, 'वडा अध्यक्ष खड्काले भने, 'समयमै पहल गर्दा कोरोनाबाट क्षति बेहोर्नु परेन। वडापालिका यसैमा सन्तुष्ट छ।'

तातोपानी गाउँपालिकाले गाउँपालिकाभित्रका ८ वडाका हरेक बस्तीमा कोभिड सम्पर्क व्यक्ति राखेको छ। दैनिक दिन सबै वडाका सबै गाउँको अवस्था बारेमा जानकारी लिने गरिएको छ।

हाल गाउँपालिकाका ठुलो संख्यामा संक्रमित आइसोलेसनमा छन्। गाउँपालिकाले ट्रेसिङ र टेस्टिङलाई संगसंगै अघि बढाएको जनाएको छ।

प्रकाशित मिति: : 2021-06-14 15:57:00

प्रतिकृया दिनुहोस्