निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको पहलमा जिल्ला अस्पताल, डोटीका लागि रु सात लाख ५० हजार बराबरको २५ श्यया उपलब्ध गराइएको छ।
जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढीरहेका र उपचार गर्न श्यया अभाव भएको खबर आएपछि नेकपा (एमाले) का नेता आलेको पहलमा उक्त श्यया उपलब्ध गराइएको हो।
स्व.मोहन गोपाल खेतानको सम्झनामा स्थापित परोपकारी संस्था अवसर पाउण्डेसन र गोरखा ब्रुअरी प्रालिले ती श्यया उपलब्ध गराएको आलेका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए।
उक्त संस्थाका अध्यक्ष पिपी खेतानले आज आलेलाई सो सामग्री हस्तान्तरण गरेका हुन्। उपलब्ध भएका श्ययाहरु अबको केही दिनमा डोटी पुग्ने गरी पठाउने तयारी भएको छ।
आलेले यस अघि पनि आफ्नै लगानीमा जिल्ला अस्पतालमा भरिएका अक्सिजन सिलिन्डर, मास्क, स्यानिटाइजर तथा औषधि वितरण गरेका थिए।
जिल्लामा अस्पतालमा २५ श्यया थप आउने भएपछि यहाँका नागरिकमा खुशीयाली छाउनुका साथै बिरामीको उपचारमा गर्न सहज हुने जिल्ला स्वास्थ्य कार्यालयका मेडिकल सुपरिटेन्डेन्ट कृष्णराज जोशीले बताए।रासस