काली गण्डकीले बगायो नौं घर

File photo
File photo

गएको शनिबारदेखिको अबिरल वर्षाको कारण पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतिवेणीका नौ घर बाढीले बगाएको छ। 

सेतीवेणी बजारमा रहेका स्याङ्जाको गल्याङ नगरपालिका—५ का आठ घरधुरी र पर्वतको विहादी गाउँपालिका—६ शालिग्रामको एक घरधुरी बाढीले बगाएको हो। मङ्गलबार बिहान उर्लिएको कालीगण्डकी नदीको पानीको भेल १५ वटा घरभित्र पसेर क्षति पुगेको थियो।

मङ्गलबार दिउँसो बहाब केही घटेपनि साँझ फेरि बढेर घर बगाएको स्थानीयवासी तिलक पराजुलीले जानकारी दिए। उनका अनुसार स्थानीय केशवराज न्यौपाने, लक्ष्मी न्यौपाने, रेशमलाल नौपाने, गोपाल सुनार, शक्ति श्रेष्ठ, माया क्षेत्री र विक्रम श्रेष्ठलगायतको घर बाढिले बगाएको हो। 

अहिले विस्थापित बनेका परिवारलाई सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ। कालीगण्डकी र सेतीखोला दुवैको बहाब बढेर पर्वत र स्याङ्जा जोड्ने सेतीखोला माथिको पुलबाट पानी बग्न लागेपछि बजारवासीमा रुवावासी छाएको थियो। अहिलेसम्म मानवीय क्षति भने नभएको पराजुलीले जानकारी दिए। बाढीले भत्काएका घरवाट बजारवासीले अत्यावश्यक वस्तुहरु निकालिएको थियो। 

अहिले स्याङ्जातर्फको बजार पूर्णरुपमा विस्थापित हुने खतरा रहेको छ। त्यसैगरी विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको छ भने शिला नजिकै रहेका सत्तलहरु समेत बगाएको छ। सेतिवेणीमा रहेको प्रहरी चौकीले विस्थापित भएका घरधुरीलाई सुरक्षित स्थानमा सार्न र सतर्कता अपनाउन आग्रह गरिरहेको छ। रासस 

प्रकाशित मिति: : 2021-06-16 17:30:00

प्रतिकृया दिनुहोस्