सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको सङ्क्रमणबाट निको हुने दर ७८ प्रतिशत पुगेको छ।
गत जेठ ९ गतेसम्म निको हुने दर झण्डै ५५ प्रतिशत मात्र थियो ।स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याङ्कका अनुसार प्रदेशको कूल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ मध्ये आजसम्म ४३ हजार ८८जनामा सङ्क्रमण पुष्टि भएको छ।
यो सङ्ख्या कूल जनसङ्ख्याको एक दशमलब ६८ प्रतिशत हो। हालसम्म कूल जनसङ्ख्याको नौ दशमलब ८८ प्रतिशत अर्थात दुई लाख ५२ हजार ३८५जनाको कोरोना भाइरसको नमूना परीक्षण गरिसकिएको छ।
सङ्क्रमित हुने मध्ये अहिले सम्म एक दशमलब ३० प्रतिशत अर्थात ५६२जनाको मृत्यु भएको छ। सङ्क्रमण भएर पनि स्वास्थ्य अवस्था सामान्य भएका सङ्क्रमितहरु अझैँ पनि संस्थागत आइसोलेशन र होम आइसोलेशनमा नै बसेर उपचाररत रहेका छन्। कोरोना भाइरससँग मिल्दो लक्षण भएका तर नमूना परीक्षण नगराएका पनि होम आइसोलेशनमा उपचाररत रहेका छन्।
कोरोनाको दोस्रो लहर फैलिएसँगै सङ्क्रमण र मृत्यु हुने दर ह्वात्तै बढेको थियो । यसै बीच पछिल्लो २४घण्टामा प्रदेशको बझाङ जिल्लाका एक जना सङ्क्रमितको मृत्यु भएको छ।
यो अवधिमा एक हजार ९५को नमूना परीक्षण गरिँदा ६४जनामा सङ्क्रमण भएको पाइएको छ भने ९३जना उपचार व्यवस्थापन पछि घर फर्केका छन्।
यसै गरी यो अवधिमा विभिन्न अस्पतालका कोभिड वार्डमा थप १५,आइसियुमा नौ जना र भेन्टिलेटरमा तीन जना भर्ना भएका उपचारत् छन् प्रदेशको एक मात्र ‘रेफरल’ अस्पतालको रुपमा रहेको सेती प्रदेशिक अस्पताल धनगढीमा पछिल्लो२४घण्टामा मृत्यु दर शून्य छ।
यो अवधिमा अस्पतालमा नौ जना भर्ना हुँदा दुई जना उपचारपछि घर फर्किएका छन्। कोभिड वार्डमा १८ उपचाररत रहेकामा सघन उपचार कक्ष(आइसियू)मा ११,भेन्टिलेटरमा एक,अक्सिजन सहयोगमा पाँच,मोड्रेटमा दुई जना उपचाररत छन्। रासस