बदला स्वाभिमानको

Breaknlinks
Breaknlinks

आज साप्ताहिक हटिया लाग्ने दिन थियो।

अरु दिनभन्दा छिटै आउँथिन् मनसरेकी आमा। बेलैमा पकाई-तुल्ताई गरेर खुवाउँथिन्। मनसरे पिंढीमा बसेर घरमाथिको उकालो बाटोलाई खर्लप्पै निलुँलाझैं गरेर एकोहोरो हेरिरहेको थियो। चिलाउनेका रुखमा बसेर झ्याउँकिरीहरुले साँझ छिप्पियो भनिरहेका थिए।

बाख्राको टाट्नो नजिकै कुखुराका चल्लाहरुले चर्को स्वरमा 'चिउँ-चिउँ' गरेर माउ डाकिरहेका थिए।

गोठालाबाट मनसरेका दिदीहरु फर्किए। स्कूलबाट दाजु पनि फर्कियो। खाना पकाए दिदीहरुले र खाइसकेर जुठो भाँडा माझ्नतिर लागे।

रातको एघार बजिसकेको रहेछ भन्ने कुरा दाजुको पिलपिले घडीमा एघार चोटी 'टुटुट् टुटुट्' गरेर बजेपछि थाहा भयो मनसरेलाई। ऊ आमा पर्खिरहेको थियो। आमासँगै हटिया पर्खिरहेको थियो।

भोलिपल्ट मनसरे उठ्नुभन्दा अगाडि दिदीहरु मेलापाततिर गइसकेका हुन्थे। स्कूल टाढा भएका कारण दाजु पनि बिहानै हिँडिसक्थ्यो। कुच्चिएको बटुकामा बासी भात राखिदिएका हुन्थे। ऊ पिंढीमा निस्केर हातमुख पनि नधोईकन बासी भात खाँदै उकालो बाटो हेरिरहेको थियो।

कुइनेटोमा धमिलो-धमिलो देखिने रातो साडी लगाएको मान्छे उसैको घरतिर आईरहेको देख्यो। पिंढीबाट ओर्लेर आँगनसम्म पुग्यो अनि छेऊमा उभिएर चिच्यायो, 'आ...माउउउउउउ...'

उसको आवाजलाई खोलाले बोकेर आमाको कानसम्म पुर्याइ दिएपछि तुरुन्तै 'हु...उउउउउउ..' भन्ने जवाफ आयो।

आमा नै रहिछन् भन्ने कुरामा ऊ ढुक्क भयो।

दिदीहरु बिहानीको एकलट मेलो सकेर आए। खाना पकाउने सुरसार गर्न थाले। लगत्तै आधा घण्टाको फरकमा आमा पनि आई पुगिन्।

मनसरेले सोध्यो, "हिजो राति किन नआउनु भएको आमा?" 

''मुखियाकी बुहारीले छोरो जन्माईछिन्। तेरै साथीको भाई। त्यही केटाका लागि चार-पाँच वटा डसना छाप्नुपर्ने थियो। छाप्दा-छाप्दै झमक्कै रात परिगयो। अनि यति लामो बाटो एक्लै म कसरी आउनु त बाबै", आमाले भनिन्।

दुई सालअघि मनसरेका बा बितेपछि चार जना छोराछोरीको जिम्मेवारी बोकेर हिँडेकी ऊनी साहु, महाजनका घरमा गएर सिरक-डसना छाप्ने काम गर्थिन्। उध्रे, फाटेका लुगा, कपडा टालटुल गर्न पनि सिकेकी थिइन् उनले श्रीमान् को जिउ छँदै।

पछ्यौरीको झोलुङ्गो बनाएर 'कल' बोक्दा ढाड पिल्सिएर बोसै देखिने भैसकेको थियो। उसका आँखाहरुलाई सालै पिच्छेका असिनाहरुले चुटेका छन्। भेलहरु उर्लेर बाटो थुनेका बेला भोका स्यालहरुले वरिपरी घेरेर गुन्यू च्यातेर धुजा-धुजा पारिदिएका छन्। कहिलेकाहीँ त सानै खोलाले पनि बगाएका बेला त्यही 'कल' समातेर घण्टौँसम्म पानीमा डुबेकी छिन्। उकालामा दम बढेर स्याँ-स्याँ हुँदा रन्थनिएर कति चोटी बेहोस भई ढलेकी छिन्। औंलाका नङहरु भित्र तिखो सियोले च्वास्-च्वासी घोचेर रगतसरी हुँदा पनि सिलाउँदै गरेको कपडामा दाग लगाईदिनु हुँदैन भनेर डराउँथिन्।

मनसरे सानै भएका कारण दुइटी छोरी र ठूलो छोरोलाई स्कूल पठाएर उनीहरुको उज्जवल भविष्य निर्माणका लागि आफ्ना रहरहरुलाई पटुकामा टनटनी बाँधेर आफू अघाउने गर्थिन्। भित्तामा टाँसेको मनसरेका बा को  सादा फोटो हेरेर रातै पिच्छे रंगिन थुक निलेकी छिन्, उनले।

कहिलेकाहीँ त 'कल' बोक्दा-बोक्दा पिल्सिएको ढाडलाई चोलो फुकालेर देखाउन मन लाग्छ। लाचार बनेर गुन्यूको सप्कोले बुजो खाँदेर फोटो सुम्सुम्याउँदै रोएर छर्लङ्गै उज्यालो पार्छिन्, उनी।चाहनाका कैयौँ रातमा चिसा पसिनाहरुले उसको शरिरलाई तताएका छन् र पीडाहरुको बाफ बनेर उडेका पनि छन्।

पटुका कोट्याएर दुईवटा चक्लेट आमाले दिएपछि खुशीले समाउँदै दिदीको पछि-पछि गोठतिर लाग्यो मनसरे। दिदीले भकारो सोर्न थालिन् र उसलाई पानी ओसार्न लगाइन्।

वस्तुभाउलाई घाँस, खोले दिएर घर फर्किंदै गर्दा घुर्यान नजिकै आईपुगेपछि मनसरेको नाकमा एक्कासी मीठो बासना पस्यो। एकछिन् टक्क उभिएर सुँघ्यो। त्यसपछि दिदीलाई उछिनेर हतार-हतार अघि लाग्यो, ऊ।

कराईमा बंगुरको मासु र रायोको साग मिसाएर पकाएको देख्यो। खुशीले सिकुवामा बुर्कुसी मार्दै उफ्रिन थाल्यो, ऊ।

वास्तवमा उसले आमालाई पर्खिनु भनेको मासु पर्खिनु रहेछ। हटियाको दिन बाटोतिर फर्केर घुटुक-घुटुक थुक निल्दै एकोहोरो हेरिरहनु भनेको त मासु खान नपाएर पो रहेछ।

कति बेला आमाले पस्किएर दिन्छिन् भन्दै चिउँडो मुनिसम्म र्याल चुहाएर पालो पर्खिरहेको थियो मनसरे। जब आमाले उसलाई दिनु भयो, तब एउटा गाँस निली नसक्दै अर्को गाँस चपाएर एकै सासमा खपाखप खाएर सिध्यायो। अन्त्यमा दुई चोक्टा मासु उभार्यो। मासुका ती दुई चोक्टाहरुलाई आफ्नो सेतो रंगको हाफपाइन्टको गोजी भित्र राख्यो। थालमै हात धोएर उठ्यो र गाउँतिर हिँड्यो।

गोजीभित्र भएको धुलोमैलोबाट जोगाउँदै हातको पञ्जाले मुठी बनाएर मासु बोक्नु पनि ठूलै जोखिम थियो, उसका लागि।

अझ भनुँ मासुको चोक्टा झर्छ कि भनेर डराउँदै-डराउँदै बारीका कान्ला उक्लिँदा एउटा हातले समातेको बुटो उख्लेर भुईँमा लड्दा पनि गोजीभित्रको चोक्टोलाई झर्न नदिनु भनेको पनि ठूलै युद्ध जिते बराबर थियो मनसरेका लागि।

जम्मै दुई चोक्टा मासु बोकेर गाउँभरीका साथीहरुको घर-घरमा जाँदै, छेउछाऊबाट बिस्तारै डाक्दै-बोलाउँदै, अलि एकान्तमा लग्दै, उनीहरुलाई देखाई-देखाई  "यी हाम्रो घरमा मासु ल्याएको छ, देखिस्" भनेर साथीको आँखै अगाडि चोक्टोको एक छेउ टोकेर गोजीमा राख्थ्यो र त्यहाँबाट हिंडिहाल्थ्यो।

पहिलो चोटी गाउँका मुखियाको नातीलाई यसरी देखाएर खाएको थियो। जो उसको अत्यन्तै मिल्ने साथी थियो। त्यसै गरी अर्को साथीको घरमा गएर फेरि त्यसरी नै मासुको चोक्टो देखाउँदै, उसको अगाडि पनि त्यसरी नै टोक्दै गोजीभित्र राख्दै पूरै गाउँ भरी मासु खान पाउनुको खुशी बाँड्दै हिँडेको मनसरे साँझमा घर आएर पिंढीमा टुसुक्क बस्यो र सम्झियो।

मनसरे चार बर्षको हुँदा उसका बा बितेका थिए। बा बित्नुभन्दा अगाडि नै कुनै दिन बासँग बाली उठाउन भनि बोरा बोकेर त्यही मुखियाका घरमा गएको थियो, मनसरे।(जहाँ हिंजो उसकी आमाले डसना छाप्ने काम गरेर आएकी थिइन्।) आँगनको पल्लो कुनामा बसाएर मुखिनीले कुहिएको कोदो, मकै बोरामा खन्याइदिंदै थिइन्।टेबलमा बसेर खाना खाइरहेका मुखियाले खाईसकेपछि जुठेल्नामा हात चुठ्दै भनेका थिए,  "मेरो थालमा दुई चोक्टा मासु उभ्रिएको छ। जा है मनसरे टिपेर खा।"

प्रकाशित मिति: : 2021-06-19 09:49:00

प्रतिकृया दिनुहोस्