कोभिड नेपाल: निषेधाज्ञा खुकुलो भएपछि कोरोना भाइरस फेरि फैलिने सम्भावना कस्तो छ

बिबिसी

काठमाडाैं

कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहर फैलिन थालेपछि काठमाण्डू उपत्यकामा गत वैशाख १६ गतेबाट सुरु गरिएको निषेधाज्ञा पटकपटक थपियो। तर केही सातायता तुलनात्मक रूपमा निषेधाज्ञा खुकुलो भएको छ।

अस्पतालहरूमा केही साताअघि चाप घटेको र एकदमै गम्भीर बिरामीको सङ्ख्या पनि कम भइरहेको विवरण सार्वजनिक भइरहेको छ। उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले सोमवारबाट सर्वसाधारण नागरिकलाई हिँडडुल र किनमेल गर्न थप सहज बनाइदिएका छन्।

तर यसरी खुकुलो बनाउँदा केही घटे जस्तो देखिएको सङ्क्रमितको सङ्ख्यामा अस्वाभाविक परिवर्तन हुन सक्ने आशङ्का पनि व्यक्त भएको छ।

सर्वसाधारणको आवागमन खुकुलो पारिएको अवस्थामा कतिपयले विभिन्न स्थानबाट मानिसहरू कोरोनाभाइरसको "हटस्पट" मानिएको काठमाण्डू उपत्यका फर्किँदा जोखिम बढ्न सक्ने बताइरहेका छन्।

तर चिकित्सकहरू अहिले नै त्यस्तो भनिहाल्न मिल्ने अवस्था नरहेको बताउँछन्।

अहिले काठमाण्डू उपत्यकामा सङ्क्रमित हुनेहरूको सङ्ख्यामा देखिएको कमीको कारण "चेन ब्रेक" अर्थात्‌ कोरोनाभाइरस सङ्क्रमणको विस्तार रोकिएको हो वा धेरैभन्दा धेरै मानिसको शरीरमा एन्टिबडी विकास भएर हो भन्ने कुराको सङ्केत क्रमशः देखिँदै जाने उनीहरूको भनाइ छ।

प्रकाशित मिति: : 2021-06-22 16:39:00

प्रतिकृया दिनुहोस्