विदेशमा मासिक ५ लाख तलब छाडेर स्वदेशमै बाख्रा–गाई पाल्दै खड्का दम्पती

लोकान्तर

विराटनगर

 उत्तम पोखरेल

 

मोरङको उर्लाबारी–९ का राजीव खड्का वैदेशिक रोजगारीको सिलसिलामा कुवेत, कतार हुँदै विभिन्न देश पुगे । उनको कमाइ पनि मासिक ५ लाख रुपैयाँसम्म थियो ।

कम्पनीमा सुपरभाइजरको जिम्मा पाएका खड्काको कमाइ दिनप्रतिदिन बढिरहेको थियो । खड्कासँगै पत्नी हिमादेवी भट्टराई पनि वैदेशिक रोजगारीमै गएकी थिइन् । हिमादेवी गएको १ वर्ष नपुग्दै बिरामी हुन थालिन् । राजीवले १५ वर्ष विदेशमै बिताएका थिए ।

सामान्य बिरामी भएकी पत्नीले स्वदेश फर्केर केही गर्नुपर्छ भन्ने इच्छा व्यक्त गरिन् । स्वदेश फर्किन हिमादेवीले राजीवलाई दिनरात दबाब दिन थालिन् । त्यसपछि स्वदेश फर्किएर कृषि पेशा शुरू गरिएको राजीव बताउँछन् ।

‘श्रीमतीले अब परिवारबाट टाढा भएर नबस्ने, आफ्नै गाउँमा गएर केही गर्नुपर्छ भनेर दबाब दिएपछि के गर्ने भन्ने अन्योलमा परियो,’ उनले भने, ‘गाउँमा गएर के गर्ने भन्ने चिन्ताले निकै लामो समय सतायो । गाउँमा गएर के गर्ने ? यहाँ राम्रो कमाइ छ, म जान्न भनेर श्रीमतीसँगै बारम्बार विवाद गरे तर उनले मानिनन् ।’

पत्नीकै योजना अनुसार अहिले व्यावसायिक रूपमा पशुपालनमा लागेको उनी बताउँछन् । बाख्रा, गाईपालन गरिरहेका खड्का मेहनती किसानका रूपमा परिचित भएका छन् ।

प्रकाशित मिति: : 2021-07-03 18:55:00

प्रतिकृया दिनुहोस्