चलचित्र विकास वाेर्डको कार्य योजनाअनुरुप छायांकन स्थल निर्माण सम्भाव्यता अध्ययन समितिले बराहक्षेत्र नगरपालिकाको श्रीलंका टप्पुक्षेत्रलाई फिल्मसिटी बनाउन उपयुक्त रहेको ठहर गर्दै स्थानीय तहलाई प्रतिवेदन बुझाएको छ।
श्रीलङ्का टप्पुमा पर्ने गरैया, चिलैया क्षेत्रमा चलचित्र छायांकन स्थलका लागि नगरपालिकाले गरेको समन्वयका लागि चलचित्र विकास बोर्डले आभार ज्ञापनसमेत गरेको छ।
छायांकन स्थल निर्माण सम्भाव्यता अध्ययन समितिको सिफारिसका आधारमा बराहक्षेत्र नगरपालिकाले टप्पु क्षेत्रमा छायांकन स्थल निर्माण गर्नका लागि सहमति प्रदान गरी लेखिपठाएको थियो।
जवाफमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बोर्डका तर्फबाट बराहक्षेत्र नगरपालिकालाई धन्यवाद ज्ञापन गर्दै प्रतिवेदन बुझाएको समितिका सहसंयोजक प्रेम सुब्बाले जानकारी दिए।
सोमबार चलचित्रकर्मीले बराहक्षेत्रका नगर प्रमुख निलम खनाललाई भेटी प्रतिवेदन हस्तान्तरण गरेका छन्।
पत्र हस्तान्तरण गर्दै समितिका सहसंयोजक प्रेम सुब्बाले प्रदेश १ भरी जग्गाको उपलब्धता र सुन्दरताको हिसाबले बराहक्षेत्रको टप्पुक्षेत्र उपयुक्त भएको बताए।
कार्यक्रममा नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधानले सातै प्रदेशमा बन्ने फिल्मसिटी भन्दा तुलनात्मक हिसाबले प्रदेश १ मा आकर्षक र उपयुक्त स्थान छनोट भएको बताए।
बराहक्षेत्र नगरपालिकाले स्थानीय स्तरमा एउटा समिति गठन गर्नुपर्ने समितिका सहसंयोजक प्रेम सुब्बाले सुझाव दिए।
बराहक्षेत्रमा फिल्मीसिटी बन्ने भएपछि नगर प्रमुख निलम खनालले खुसी व्यक्त गरेका छन्। उनले धार्मिक नगरीसँगै बराहक्षेत्र फिल्म नगरी हुनेमा आशावादी रहेको बताए। उनले नगरपालिकाले कार्यविधि निर्माण गरी स्थानीय सरकारले काम अघि बढाउने उपस्थित चलचित्रकर्मीहरुलाई आश्वासन दिए।
संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको समन्वयमा सातै प्रदेशमा छायांकन स्थल निर्माण गर्ने अभियानअन्तर्गत बराहक्षेत्रलाई छनोट गरी चलचित्र विकास बोर्डले काम अघि बढाएको छ।
चलचित्र विकास बोर्डले गठन गरेको छायांकन स्थल निर्माण सम्भाव्यता अध्ययन समितिले प्रदेश १ का विभिन्न स्थलमा अवलोकन गरी वराहक्षेत्रको श्रीलंका टप्पु क्षेत्रलाई उपयुक्त स्थानका रुपमा सिफारिस गरेको थियो।
समितिले यसअघि प्रदेश र संघीय सरकारलाई उक्त प्रतिवेदन बुझाइसकेको छ।
कार्यक्रममा नेपाल चलचित्रकर्मी महासंघका प्रदेश १ अध्यक्ष अरुणकुमार प्रधान, सदस्य हिमाल दाहाल, छायांकन स्थल निर्माण सम्भाव्यता अध्ययन समितिका सहसंयोजक प्रेम सुब्बा, सदस्यहरु केबल तामाङ, केशव रायमाझी, भीषण राईलगायतको उपस्थिति थियो ।