सत्ताको रमझममा कांग्रेस : देउवाको ध्यान सरकार चलाउने कि पार्टी महाधिवेशन गर्ने ?

लोकान्तर

काठमाडौं

सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको बधाई लिइरहेको समयमा कांग्रेस पार्टी कार्यालय सानेपामा पार्टी कार्यकर्ताहरू धर्नामा बसिरहेका छन्, क्रियाशील सदस्यताका विवादको विषयलाई लिएर । 

पार्टीको महाधिवेशन गर्नुपर्ने समयमा देउवालाई अनायासै मुलुक हाँक्नुपर्ने जिम्मेवारी काँधमा आएको छ । 

सर्वोच्च अदालतले असार २८ गते देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि देउवाको प्राथमिकता फेरिएको जस्तो देखिएको छ । अहिले देउवालाई पार्टी महाधिवेशनको तयारी भन्दा पनि सरकारलाई विश्वासको मत लिने हतारो छ ।

सँगसँगै पार्टीभित्र मन्त्री बन्ने आकांक्षीको लस्कर व्यवस्थापन र गुटलाई मिलाउनुपर्ने चुनौती पनि देउवाको काँधमा छ । 

विश्वासको मतको चटारोकै कारण देउवाले कांग्रेस पदाधिकारी बैठकलाई समय दिन नसकेर तीन दिनदेखि स्थगित हुँदै आएको छ । कांग्रेस बैठक स्थगित गरेर देउवा बुधवार एमाले नेता माधव नेपाललाई भेट्न कोटेश्वर पुगेको थिए ।  

मुलुकको अग्रणी र लोकतन्त्रको वकालत गर्ने पार्टी कांग्रेसका लागि बाध्यकारी रहेको महाधिवेशन आउन मात्र ४७ दिन मात्र बाँकी छ । क्रियाशील सदस्यताको विवाद अझै सुल्झिएको छैन ।

क्रियाशील सदस्यताको विवाद टुंग्याएर सभापतिलाई हस्तान्तरण गर्ने कामदेखि नै महाधिवेशन कार्यतालिका प्रभावित भइसकेको छ । 

प्रकाशित मिति: : 2021-07-16 11:58:00

प्रतिकृया दिनुहोस्