जहाँ प्रतिरोधको चर्चा हुन्छ, त्यहाँ प्रसिद्ध भारतीय लेखक अरुन्धती रोयको नाम स्वतः आउँछ। दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयका विद्यार्थीहरूको आन्दोलन होस् या छत्तीसगढको बस्तरको जंगलमा चलिरहेको गुरिल्ला युद्ध; सेनाको बन्दुकको छायामुन्तिर बाँचिरहेका कश्मीरी जनता हुन् या बाँधले विस्थापित भएका आदिवासी; सबैले किन रोयलाई रुचाउँछन् होला ? उसो त उनलाई नरुचाउनेको विशाल पंक्ति पनि छँदै छ।
बुकर पुरस्कारप्राप्त द गड अफ स्मल थिङ्ज र पाँच वर्षअघि प्रकाशित द मिनिस्ट्री अफ अट्मोस्ट ह्यापिनेस, यी दुई उपन्यास र सयौं निबन्ध लेखेकी उनी गैरआख्यान लेख्दा बेचैन हुँदी रहिछन् भने आख्यान लेख्दाचाहिँ शान्त र सनकी ! लेखक र कथकली नर्तक उनलाई उस्तै-उस्तै लाग्छ। आफ्नो प्रसिद्धिमा उनलाई अपराधबोध पनि हुँदो रहेछ। किन होला ? द पेरिस रिभ्यू, २०२१ को गृष्म अंकमा हसन अल्ताफसँग उनले लामो बातचित गरेकी छन्। निजी जिन्दगी र लेखनका विभिन्न पत्र उप्काउँदै रोयले गम्भीर अनि रमाइला पनि कुरा गरेकी छन्।
द पेरिस रिभ्यूमा प्रकाशित यस अन्तर्वार्तालाई विनोदविक्रम केसीले नेपालीमा अनुवाद गरेका छन्।
अरुन्धती रोयको पहिलो उपन्यास थियो, द गड अफ स्मल थिङ्ज (१९९७)। त्यसपछि बीस वर्षसम्म अर्काे उपन्यास आएन। सन् २०१७ मा द मिनिस्ट्री अफ अट्मोस्ट ह्यापिनेस प्रकाशित भयो। बीचका यी दुई दशकमा उनको लेखन सुस्तायो भन्नेचाहिँ कदापि होइन। उनले झन् धेरै लेखिन्। बाँध, विस्थापन र लोकतन्त्रमाथि लेखिएका उनका थुप्रै निबन्ध आउटलुक, फ्रन्टलाइन, द गार्जियनलगायत म्यागजिनमा छापिए। निबन्धका सङ्ग्रहले उपन्यासलाई चाँडै नै उछिने। यीमध्ये अधिकांश निबन्ध सन् २०१९ मा प्रकाशित माई सेडिसस हार्टमा सङ्गृहित छन्, जो फुटनोट पनि जोड्ने हो भने झन्डै हजार पृष्ठको छ। त्यसको एक वर्ष नपुग्दै रोयले नौ वटा नयाँ निबन्ध सँगालेर आजादीः फ्रिडम. फ्यासिजम. फिक्सन प्रकाशन गरिन्।