देउवाले आजै विश्वासको मत लिने, विश्वास पाउने लगभग निश्चित

फाइल तस्वीर
फाइल तस्वीर

प्रधानमन्त्री शेरबहादुर देउवाले पुनःस्थापित प्रतिनिधिसभाको पहिलो दिनको बैठकमै विश्वासको मत लिने भएका छन्।

प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने तयारी गर्न संसद सचिवालयलाई जानकारी गराएको देउवा निकट स्रोतले जनाएको छ।

ढिला गर्दा राजनीतिक समिकरण फेरिन सक्ने र विश्वासको मत प्राप्त नहुने अवस्था आउनसक्ने भएकाले देउवाले आजै विश्वासको मत लिन लागिएको दाबी छ।

स्रोतका अनुसार कानुनमन्त्री ज्ञानेन्द्रबहादुर  कार्कीले  कार्यव्यवस्था समितिको बैठकमा विश्वासको मत लिने प्रस्ताव लिँदैछन्। बैठकले प्रस्ताव टेबुल गरेमा प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने छन्।

सर्वाेच्चको परमादेशपछि प्रधानमन्त्री देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ।

प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गर्न सकेमा प्रतिनिधिसभाको बाँकी कार्यकालका लागि प्रधानमन्त्री बन्ने छन्। बाँकी १७ महिना मुलुक देउवाको नेतृत्वामा अगाडि बढ्ने छ।

यदि प्रधानमन्त्री देउवाले विश्वासमा मत प्राप्त गर्न नसकेमा उनकै सिफारिशमा प्रतिनिधिसभा विघटन हुने छ। प्रतिनिधिसभा विघटन भएको ६ महिनाभित्र मध्यावधिक निर्वाचन गर्नु पर्नेछ।

प्रधानमन्त्री देउवाले विश्वासको मत पाएपछि पनि सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा देउवाले त्यसको एक महिनाभित्र प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिनुपर्ने छ। त्यसबेला देउवाले विश्वासको मत पाएनन्, भने प्रतिनिधिसभा विघटन गरेर त्यसको छ महिना भित्र चुनाव गर्नु पर्नेछ।

पछिल्लो समिकरण अनुसार नेपाली काँग्रेसका ६१, नेकपा माओवादी केन्द्रका ४९, राष्ट्रिय जनमोर्चाका १ र जसपा उपेन्द्र यादवका १७ जना सांसद प्रधानमन्त्री देउवाको पक्षमा छन्। हालको संसद्को अङ्कगणित अनुसार देउवाले विश्वासको मत पाउन ८ सांसद आवश्यक पर्छ। प्रधानमन्त्री देउवालाई विश्वासको मत दिँदा कुनै पनि सांसदलाई दलको ह्वीप लाग्ने छैन।

यसअघि नेकपा एमालेको माधव पक्षका २६ जना सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर राष्ट्रपति विद्यादेवी भण्डारी बुझाएका थिए। पछि प्रतिनिधिसभा पुनर्स्थापना र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेशको माग गर्दै सर्वोच्चमा २३ सांसादले मात्रै हस्ताक्षर गरेका थिए।

माधव नेपाल पक्षले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत सम्भावना रहेको छ। आइतबार मात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ र माधव कुमार नेपालबीच यस विषयमा वार्ता भएको थियो। त्यस हिसाबले पनि प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गर्ने सम्भावना रहेका छ।



प्रधानमन्त्री शेरबहादुर देउवाले पाउलान् त विश्वासको मत ? यस्तो छ अंकगणित

प्रकाशित मिति: : 2021-07-18 11:25:00

प्रतिकृया दिनुहोस्