प्रधानमन्त्री देउवालाई पहिलो दिनमै विश्वासको मत लिन माधव नेपालले सुझाव दिएको खुलासा

फाइल तस्वीर
फाइल तस्वीर

एमाले शेरबहादुर देउवाले ‘समानान्तर गतिविधि’ चलाइरहेका एमाले वरिष्ठ नेता माधवकुमार नेपालको सुझावअनुसार पुनस्र्थापित प्रतिनिधिसभामा बैठक बसेको पहिलो दिन नै विश्वासको मत लिने निर्णय गरेको खुल्न आएको छ।

विवाद समाधान कार्यदलमा रहेर काम गरेका दुवै पक्षका गरी नौ जना नेताहरुसँगको छलफलमा वरिष्ठ नेता नेपालले यस्तो खुलासा गरेका हुन्।

नेपालसँगको छलफलमा सहभागी एमाले स्थायी कमिटीका एक जना सदस्यले बिएल नेपाली सेवालाई दिएको जानकारीअनुसार, नेपालसँग कार्यदलको प्रतिवेदन कार्यान्वयका लागि कुरा गर्न पुगेका नेताहरुसँगको छलफलमा वरिष्ठ नेता नेपालले भने, ‘मैले आजै विश्वासको मत लिनुस् भनेको त होइन तर विश्वासको मत छिटो लिनुस् भन्ने सुझाव दिएको थिएँ। पहिलो दिन नै लिन लाग्नु भएछ।’

वरिष्ठ नेता नेपालले आफूले देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने ‘कमिटमेण्ट’ गरेको पनि बताएका थिए।

‘मान्छेले कमिटमेण्ट गरेपछि पूरा गर्नुपर्छ। अहिले आएर हामीले देउवालाई भोट हाल्दिनँ भन्न मिल्छ?’, नेता नेपालले आफ्नै निवासमा आएका कार्यदलमा रही काम गरेका एमाले स्थायी कमिटीका नौ जना नेताहरुलाई भने, ‘मैले कमिटमेण्ट गरेको थिएँ। म उहाँलाई विश्वासको मत हाल्छु। बरु केपी (ओली) कमरेडसँग पनि सबैले कुरा गरौँ, देउवालाई विश्वासको मत दिनसपर्छ भनेर। अहिले  विश्वासको मत नदिए चुनाव हुन्छ। अहिले नै चुनावमा जानु हाम्रो हितमा हुँदैन।’

नेपालले यस्तो अभिव्यक्ति दिएपछि नेपालको भनाइप्रति एमाले उपाध्यक्ष भीम रावलले आपत्ति जनाएका थिए। ‘देउवालाई विश्वासको मत दिने निर्णय कहिले कहाँ भएको थियो ? यो भएको छैन’, रावलले आपत्ति जनाए।

नेपालसँगको भेटमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, एमाले उपाध्यक्ष भीम रावल, उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल, सचिवद्त्रय प्रदीप ज्ञवाली, भीम आचार्य र गोकर्ण बिष्ट, स्थायी कमिटी सदस्यद्वय शङ्कर पोखरेल र सुरेन्द्र पाण्डे सहभागी थिए।

प्रकाशित मिति: : 2021-07-18 14:19:00

प्रतिकृया दिनुहोस्