प्रभु साहको नेतृत्वमा एमालेको 'आईटी आर्मी', सूचना प्रविधिको सहायताले जनता सचेत बनाउने घोषणा

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रभु साहको नेतृत्वमा 'आईटी आर्मी' गठन गरेको घोषणा गरेका छन्। भक्तपुरको लोकन्थलीस्थित एक पार्टी प्यालेसबाट घोषणा गरिएको उक्त संगठनको काम 'शासक वर्ग'ले समाजमा सृजना गरेको 'भ्रम' चिर्ने रहेको बताइएको छ।

उक्त कार्यक्रमबाट संगठनको अन्तरिम घोषणापत्रसमेत सार्वजनिक गरिएको छ। अन्तरिम घोषणापत्रमा द्वन्द्व र विभाजनको स्थितिको अन्त्य आईटी आर्मीले गर्ने उल्लेख छ।

आईटी आर्मीले सूचना प्रविधि (आईटी) को सहायताले मुलुकमा व्याप्त दूराचार, भ्रष्टाचार, बेथितिलगायत विसंगति हटाउन सकिने जनाएको छ। आईटीकै माध्यमबाट दमन, उत्पीडन र विभेदलाई बढावा दिने गलत शासन व्यवस्थाको अन्त्य गरिने अन्तरिम घोषणापत्रमा उल्लेख छ।

मुख्यतः आम श्रमजीवी तथा उत्पीडित जनतालाई सूचना प्रविधिको सहायताले सुसूचित, सचेत र संगठित गर्ने गराउने आईटी आर्मीको उद्देश्य रहेको छ।

सर्वोच्च अदालतको फैसलापछि एमाले–माओवादीकेन्द्र अलग हुँदा साविक माओवादी छाडेर एमाले रोजेका नेता हुन् साह। उनले आइटी आर्मी नामको संगठन गठन गरेका छन्।

एक सय ५१ सदस्यीय सो संगठनले आईटी क्षेत्रबाट पार्टीका गतिविधिहरु निगरानी गर्ने साहले बताए। यस्तै जिल्ला कमिटी ५१ सदस्यीय तथा पालिका कमिटी ३३ सदस्यीय हुने गरी प्रस्ताव गरिएको छ।

प्रकाशित मिति: : 2021-07-20 16:08:00

प्रतिकृया दिनुहोस्