कमला नदीको बाढीले किरतपुरमा बाँध कटान, रोकथामको प्रयास जारी

विजय साह

जनकपुर

धनुषास्थित कमला नदीमा आएको बाढीले बाँध कटान गर्न थालेपछि रोकथाम गर्न नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयबासी जोडतोडले जुटेका छन्।

सोमबार राति कमला नदीमा आएको बाढीले सबैला नगरपालिका–१३ किरतपुरमा नदीको पश्चिमतर्फको बाँध कटान गरेको हो। बाढीका कारण ६ सय मीटरभन्दा बढी बाँध कटान गरेको छ। 

बाढीले बाँध कटान गरेको स्थानमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी र स्थानीयबासी बिहानैदेखि मिलेर बालुवा भरिएको बोरा र रुख काटेर बाँध बचाउन लागिपरेका छन्। 

बाँध कटान स्थालमा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, धनुषाका एसपी प्रकाश रानाभाट, जिल्ला समन्वय समिति धनुषाका अध्यक्ष, कमला नदी नियन्त्रण आयोजनाका जनकपुरका प्रमुख एकराज भट्टराईलगायतले अवलोकन गरेका छन्। 

बाँध कटान क्षेत्र अवलोकन गरेका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बाँध कटान गर्न थालेपछि बाढीले डुबान हुन सक्ने क्षेत्रमा प्रहरी परिचालन गरी स्थानीयलाई सतर्क गराइएको र बाँध मर्मतका लागि सुरक्षाकर्मी परिचालन गरीएको बताए।

बाढी बस्ती क्षेत्रमा पस्ने सम्भावना हाललाई टरेको भएपनि बाढीले सहिदनगर नगरपालिका, कमला नगरपालिका, जनकनन्दनी गाउँपालिका र सबैलाई नगरपालिकाको गाउँहरू डुबानमा पर्ने खतरा रहेको उनले जानकारी दिए।

कमला नदी नियन्त्रण आयोजना कार्यालयका प्रमुख एकराज भट्टराईले १ सय मिटर पूर्व भएर बगिरहेको नदी सोमबार राति पश्चिमी किनार हुँदै बग्न थालेपछि बाँध कटान भएको बताए।

तल्लो भाग २२ मीटर र माथिल्लो भाग ६ मिटर चौडाई भएको बाँध अहिले कटान गरेर कतै–कतै २ मीटर मात्र बाँकी रहेको कमला नदी नियन्त्रण आयोजना कार्यालयका प्रमुख भट्टराईले जानकारी दिए। 'कटानबारे माथिल्लो निकायमा जानकारी गराएका छौं,' उनले भने, 'कटान क्षेत्रमा बाँध बचाउन र मर्मत गर्न बजेट नभएको कारण बाँध बचाउन समस्या भएको छ।'

अर्थ मन्त्रालयले विपद् नियन्त्रण गर्ने अपातकालिन बजेट कटौती गरेपछि बाँध मर्मतमा समस्या भएको भट्टराईले सुनाए। बाँध कटान भएको स्थानमा ठोस रुपमा बाँध निर्माण हुनुपर्ने वडा अध्यक्ष भागिरथ महतोले बताए।

प्रकाशित मिति: : 2021-07-20 19:51:00

प्रतिकृया दिनुहोस्