एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

नेकपा (एमाले)को केन्द्रीय कमिटीको १०औं बैठक आज (बुधबार) पनि जारी रहने भएको छ।

 तुलसीलाल प्रतिष्ठान भवन च्यासलमा अपरान्ह ३ बजे बैठक बस्ने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

मंगलबार बसेको बैठकमा पार्टीभित्र उत्पन्न समस्या समाधानका लागि गठित कार्यदलले गरेका काम–कारबाही बारे नेता सुवास नेम्वाङले ब्रिफ्रिङ गरेका थिए।

बैठकमा प्रदेश १ अध्यक्ष देवराज घिमिरे, प्रदेश २ अध्यक्ष ज्वालाकुमारी साह, वाग्मती अध्यक्ष आनन्द पोखरेल, गण्डकी अध्यक्ष जगत विश्वकर्मा, लुम्बिनी अध्यक्ष लिला गिरी, कर्णाली अध्यक्ष गोरख बोगटी र सुदुरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले पछिल्लाे राजनीतिक दृश्यले प्रदेशमा पार्न सक्ने प्रभाव बारे आ–आफ्नो भनाइ राखेका थिए।

हिजाेकाे बैठकले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै आन्तरिक एकताका लागि अन्तिम समयसम्म प्रयास गर्ने निर्णय गरेको छ। नेता माधवकुमार नेपालसहित २२ सांसदलाई स्पष्टीकरण सोधेको एमालेले पत्र पुगेको २४ घण्टापछि सोबारे निर्णय गरेकाे हाे।

आजकाे बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमाले नेताहरूमाथि थप कारबाही गरिने एमाले स्राेतले बताएकाे छ।

अध्यक्ष केपी शर्मा ओली नेतृत्वको निवर्तमान सरकारका उपलब्धि, सर्वोच्च अदालतको असार २८ गतेको फैसला, पार्टीको आगामी कार्ययोजना, सुदृढीकरण र शुद्धीकरण अभियानलगायतका विषय कार्यसूची रहेका छन्।

प्रकाशित मिति: : 2021-07-21 07:13:00

प्रतिकृया दिनुहोस्