नियमित बस चल्दा जहिल्यै घाटामा रहने साझा यातायात कोरोनाको समयमा २० करोड नाफामा !

बस किन्न सरकारले दिएको ३ अर्ब रूपैयाँ बैंकमा राखेर ब्याज खाँदै मुनाफा आर्जन

लोकान्तर

काठमाडौं

नियमित बस सञ्चालन गर्दा प्रत्येक वर्ष घाटामा जाने गरेको साझा यातायात कोरोना महामारीका बेला बस नै नचल्दा भने बैंक मौज्दातको ब्याजबाट नाफामा गएको छ।

४ अर्ब शेयर पूँजी रहेको उक्त सहकारी संस्थामा कुल ७१ वटा बस सञ्चालन हुँदा आम्दानीको दोब्बरभन्दा बढी रकम खर्च हुने गरेको थियो ।

गत आर्थिक वर्ष २०७७/७८ मा बस सञ्चालनबाट कुल आम्दानी ४ करोड १४ लाख ५० हजार ८७८ रुपैयाँ भएको थियो भने कुल ८ करोड ५९ लाख ६९ हजार ९४० रुपैयाँ खर्च भएको थियो।

आम्दानी र खर्च तुलना गर्दा गत वर्ष ४ करोड ४५ लाख १८ हजार ७६२ रुपैयाँ घाटा भएको छ।

बस सञ्चालन गर्दा ४ करोड ४५ लाख रुपैयाँभन्दा बढी रकम घाटामा गएको भएपनि साझा यातायातले गत वर्ष २० करोड रुपैयाँ नाफा गरेको छ ।

बस किन्नका जम्मा भएको ३ अर्ब रकम बैंकमा खातामा राखेर त्यसको ब्याजले संस्था नाफामा गएको हो ।

साझा यातायातका लेखा अधिकृत सुनिल महर्जनले दिएको विवरण अनुसार आर्थिक वर्ष २०७७/७८ मा बस सञ्चालनबाट कुल ४ करोड १४ लाख ५० हजार ८७८ रुपैयाँ आम्दानी भएको थियो।

जसमध्ये काठमाडौं उपत्यकामा सञ्चालित बसबाट कुल ३ करोड ५१ लाख ५५ हजार ९४० रुपैयाँ आम्दानी भएको थियो भने लामो दुरीको चारवटा बसबाट कुल ६२ लाख ९४ हजार ९३८ रुपैयाँ मात्र आम्दानी भएको थियो। तर बस सञ्चालनमा कुल ८ करोड ५९ लाख ६९ हजार ९४० रुपैयाँ खर्च भएको थियो। आम्दानीभन्दा दोब्बर खर्च भएको छ।

प्रकाशित मिति: : 2021-07-22 17:30:00

प्रतिकृया दिनुहोस्