मेरो नाम माया हो।
विद्यालयको प्रमाणपत्रमा फूलमाया छ। तर, म आफ्नो परिचय दिँदा माया नै भन्छु। माया- मजस्ती उमेरदार केटीलाई थुप्रै अर्थ लाग्दो रहेछ। किनकिन फूल थपेको फिटिक्कै मन पर्दैन थियो।
मेरो दैनिकी हाँसीखुसी बितिरहेको थियो। लाग्थ्यो, जीवन कति रंगीन छ। तर, अठार महिनामा मेरो कथा हवात्त ट्विस्ट भयो। दुई जना मान्छेहरूसँगका सहवासले जीवन एउटा सानो कथाजस्तो भयो।
मलाई त्यो मान्छे पटक्कै मन पर्दैनथ्यो। ‘काली’ भनेर बाेलाउँथ्यो। कति सजिलै काली भन्न सकेका होलान्। साथीहरूले पनि नाम बिगारेर बाेलाउँछन्।
त्यो मान्छे शनिबार बिहान त अवश्य टुप्लुकिन्थ्यो। आँखा चिम्सो पारेर हाँस्थ्यो। मलाई घुरे झैँ लाग्छ। ऊ जूत्ता खोलेर प्वाल परिसकेका मोजाहरूसँगै भित्र छिर्थ्याे। सायद कपाल कहिल्यै कोर्दैन थियो। दाइलाई सोध्थ्यो, भाउजुलाई चिया बनाउन लगाउँथ्यो वा करेसाबारीमा आमासँग हुन्थ्यो।
'आमा यि आलुहरूसँगै मुला रोप्न सकिन्छ ?'
'सकिन्छ। आज चेश खेलेनौ ?'
अँ, मलाई केही फरक पर्दैन। मलाई माया गरेर बाेलाउने पनि छ। र, उसले असाध्यै माया पनि गर्छ। ऊ यहाँको बैंकमा सरुवा आएको तीन महिना भयो। तर लाग्छ, ऊ मलाई पहिलेदेखि नै चिन्छ। जात नमिलेर के भयो- सानै उमेरमा त्यत्रो पोष्ट छ। म पनि धेरै माया गर्छु।