सुनसान शिवालय : देखिएनन् भक्तजन

File photo
File photo

विगतका वर्षमा साउने सोमबार म्याग्दीको गलेश्वर मन्दिरमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दथ्यो।  

बेनी शिवालयसहित जिल्लाका विभिन्न ठाउँस्थित देवालयमा पूजा गर्ने र कालीगण्डकी नदीमा स्नान गर्नेको ठेलमठेल हुन्थ्यो तर यसपालि भने त्यस्तो देखिएन।

असारको पहिलो सातादेखि कम हुँदै गएको कोरोना सङ्क्रमण साउन शुरु भएदेखि पुनः बढ्न थाल्नु, किसानलाई रोपाइँको चटारो हुनु, यातायातका साधन पनि राम्रोसँग सञ्चालन हुन नसक्नु र निषेधाज्ञा कायमै रहनु जस्ता कारणले गर्दा देवालय वा शक्तिपीठमा भक्तजनको उपस्थिति नदेखिएको हो। 

म्याग्दीको बेनी, गलेश्वरलगायत ग्रामीण क्षेत्रका कुनै पनि शिवालय र शक्तिपीठहरुमा भक्तजन देखिएका छैनन्। दिनभर पूजाआजाका लागि भक्तजनको भीडभाड हुने यहाँका शिवालय र शक्तिपीठ अहिले सुनसान जस्तै छन्। 

मन्दिरमा पुजारी र मन्दिर व्यवस्थापन समितिका पदाधिकारीबाहेक अरु व्यक्तिको उपस्थिति न्यून रहेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले बताए। 

सोमबारकै दिन म्याग्दीका ग्रामीण भेग र पर्वत, बागलुङ तथा पोखराबाट गाडी लिएर वा बसमा चढेर पूजाआजाका लागि गलेश्वरमा आउने भक्तजनका कारण यहाँका मन्दिर नजिकका पर्यटकीय क्षेत्र भरिभराउ हुन्थे। बजारको व्यापार र होटल तथा यातायात व्यवसाय पनि चलायमान हुन्थ्यो।

महिला हातभरी हरिया चुरा तथा उस्तै रङका पहिरनमा सजिएर बजारमा डुल्ने गर्दथे। बजारमा हरिया चुरा र पूजा सामग्रीको अत्याधिक व्यापार हुन्थ्यो तर गत वर्ष र यस वर्षको दोस्रो सोमबारसम्म बजारमा पनि त्यस्तो कुनै रौनक नदेखिएको स्थानीय व्यवसायी पार्वती घिमिरेले बताइन्।

कोरोना महामारीले शैक्षिक, आर्थिक, सामाजिक विकासलगायत अन्य धेरै क्षेत्रमा झैं धार्मिक र सांस्कृतिक क्षेत्रमा पनि गम्भीर असर पारेको बेनी शिवालय क्षेत्र विकास समितिका सुन्दरकुमार केसीले बताए। 

उनले भने, 'मन्दिर तथा शक्तिपीठ प्रचारप्रसारले मात्रै नभएर भक्तजनको उपस्थितिले सञ्चालन हुने हुन्। जति धेरै मानिसले मन्दिरमा पूजाआजा र दर्शन गर्छन्, त्यति नै बढी मन्दिर तथा देवालयहरुको महत्व बढ्दै जान्छ। तर पोहोर साल र यस वर्ष कोरोना महामारीका कारण मन्दिरहरु पनि सुनसान नै बने।' 

प्रकाशित मिति: : 2021-07-26 19:13:00

प्रतिकृया दिनुहोस्