कोरोना महामारीका बेला पनि सूर्यविनायक नगरपालिका–८ स्थित डोलेश्वर मन्दिर परिसरमा भक्तजनको घुइँचो लागेको छ।
साउनको दोस्रो सोमबार डालेश्वर महादेव मन्दिरमा दर्शन तथा पूजाअर्चना गर्न आउने भक्तजनको घुइँचो लागेको हो। गत वर्ष लकडाउन भएकाले मन्दिर बन्द भए पनि यस वर्ष मन्दिर खुला गरेपछि दर्शन गर्न जानेको भीड लागेको हो।
मन्दिर परिसरमा दर्शनार्थीको चाप बढेपछि सगोल युवा समाजले निःशुल्क मास्क तथा स्यानिटाइजर वितरण गरेको छ । मन्दिरमा आउने सबै भक्तजनलाई स्वास्थ्य सामग्री वितरण गरेको समाजका अध्यक्ष प्रदीप थापाले बताए।
त्यस्तै कोरोना महामारीमा रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटी, सिपाडोल उपशाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ।
हरेक सोमबार र शनिबार मन्दिर परिसरमा रक्तदान कार्यक्रम गर्दै आएकोमा आज पनि रक्तदान गरेको उपशाखाका सभापति राकेश थापाले जानकारी दिए। मन्दिरमा आउने दर्शनार्थीले रक्तदान गरुन् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताइएको छ।