महामारीको जोखिम भत्तामा विभेद : धनगढीका स्वास्थ्यकर्मीले पाए, पुनर्वासबाट खटिनेलाई आशैआश !

कैलाली र कञ्चनपुर जिल्लासँग जोडिएको गौरीफन्टा नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा स्वास्थ्यकर्मी गणेशबहादुर साउँद १ वर्षदेखि कार्यरत छन् ।

कोरोना महामारीको पहिलो लहरले जतिबेला जनमानसमा त्रासदीको बिजारोपण गर्‍यो, त्यतिबेलादेखि नै उनी हेल्थ डेस्कमा खटिएका छन् ।

महामारीको त्राससँगै भारतसँग सीमा जोडिएको सुदूरपश्चिमको प्रमुख नाका मानिने गौरीफण्टा नाका भएर लाखौं नेपाली घर फर्किए । कञ्चनपुरको पुनर्वास नगरपालिकाले २०७६ चैत महिनाको दोस्रो सातादेखि नै भारतबाट घर फर्किने नेपालीहरूको कोरोना परीक्षण गर्न उनीसहित २ जना स्वास्थ्यकर्मीलाई खटायो । मुखमा मास्क, ज्वरो नाप्ने (थर्मल गन), एन्टिजेन किटबाट उनीहरू आगन्तुकको कोरोना परीक्षणमा खटिरहे ।

यसबीच सरकारले फ्रन्टलाइनमा कार्यरत स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न जोखिम भत्ता दिने घोषणा पनि गर्‍यो । तर हाल कोरोना महामारीको तेस्रो लहर आउनै लागेको भनिए पनि हालसम्म जोखिम भत्ता दिइएको छैन ।

सँगै खटिएका अरु नाकामा कार्यरत स्वास्थ्यकर्मीले जोखिम भत्ता पाए पनि आफूहरूले नपाएको गौरीफण्टामा खटिएका स्वास्थ्यकर्मीको गुनासो छ ।

साउँदले भने, ‘५० प्रतिशत जोखिम भत्ता दिने भनेकोमा अहिलेसम्म केही पनि पाइएको छैन । कोरोना महामारीको पहिलो लहरमा ३ महिना सीमानाकामा खटिएर काम गरे । त्यो बेला पनि दिएनन् । दोस्रो लहरसम्मै यही नाकामा खटिएको छु ।’

प्रकाशित मिति: : 2021-08-03 14:00:00

प्रतिकृया दिनुहोस्