तारानाथ आचार्य
बागलुङको काठेखोला गाउँपालिका– ८ लेखानीका दुई गाउँ जोड्ने अग्लो र लामो झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा पगेको छ। लेखानी र कादेश गाउँ जोड्नेगरी निर्माण भइरहेको पुलको अधिकांश काम सकिएको हो।
पूर्वाधार विकास कार्यालय बागलुङले लेखानीदेखि कादेश जोड्ने ३५९ मिटर लामो र खोलाको पानी सतहदेखि ९५ मी अग्लो पुल बनाएको हो। यो पुलले कादेशका झण्डै ४०० घरपरिवारलाई वडा कार्यालय, स्वास्थ्य चौकी र लेखानी माविमा जोड्छ।
गण्डकी प्रदेश सरकारको दुई करोड ९३ लाख ८५ हजार ६५० रुपैयाँको लागतमा यो पुल तयार हुन लागेको हो। इञ्जिनीयर कृष्ण गौतमका अनुसार पुलको तारबार लगाउने तथा डेक राख्ने काम बाँकी छ।
विसं २०७६ को जेठमा सम्झौता भए पनि कोरोना सङ्क्रमणले छ महिना म्याद थपेको मुक्तिनाथ निर्माण सेवाले केही समयमै कामसक्ने आश्वासन दिएको छ।
घुमाउरो बाटोले एक घण्टा लाग्ने गरेकामा यो पुलले १० मिनेटमै लेखानी आउन सकिने जनाउँदै स्थानीय लालकुमारी पुनले खुशी व्यक्त गरिन्।
'लेखानी गाउँमै तरकारी पठाउनुपर्दा पनि गाडी चाहिन्थ्यो, अब डोकोमै बोकेर पनि छिट्टै पठाउन सकिने भयो' उनले भनिन्, 'गाउँपालिका केन्द्र जान झनै सजिलो भएको छ।' यो बाटो छोटिएपछि पालिका केन्द्र आइपुग्न एक घण्टा छोटो हुने उनले बताए।
दुई वर्षअघि वर्षात्मा यहाँ खसेको पहिरो र खोलाको बाढीले लेखानीदेखि कादेश जोड्ने सडक क्षत्विक्षत थियो। खोलाको पुरानो झोलुङ्गे पुल पनि बगेपछि लेखानी मावि आउने विद्यार्थीलेसमेत सास्ती खेपेका थिए।
खोला तर्न नसक्ने भएकाले अभिभावकले छोराछोरी पठाउन पनि सकेका थिएनन्। साउन र भदौ महिनामा धेरै बालबालिका विद्यालय आउनै नसक्दा पढाइ अवरुद्ध थियो। यो पुल बनेपछि भने सहजै यात्रा गर्न सकिने भएको हो।
पछिल्लो समय अग्ला र लामा पुल बनाउन नेपाली प्राविधिक नै सक्षम भएको सो कार्यालय प्रमुख सोभियत खड्काले जानकारी दिए।
'यस्ता पुल निर्माण हुँदा विद्यालय र बजार छोटिएर स्थानीयले सुख पाएका छन्' उनले भने, 'घण्टौँ हिँड्नुपर्ने बाटो १० मिनेटमा छोटिँदा बुढापाकालाई उपचारमा पहुँचसमेत बढेको छ। रासस