हुरी र असिनापानीका कारण बैतडीमा एक जना घाइते भएका छन्। सोमबार बेलुका आएको हुरीसँगैको वर्षाले जिल्लाका विभिन्न क्षेत्रमा क्षति पुर्याएको प्रहरीले जनाएको छ।
हुरीले सिँगास गाउँपालिका-२ मैतडका विष्णु बोहराको दुईतले जस्तापाताले छाएको घरको छाना उडाएको छ। छाना उडाउँदा जस्तापाता लागेर घरभित्र बसिरहेका १४ वर्षीय टेकेन्द्र बोहरा घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए। टेकेन्द्रको टाउकोमा चोट लागेको छ।
उनका अनुसार सिँगास-५ खैरकोट, सल्याली, ढुङ्गाडका केही घरमा पनि हुरीले क्षति पुगेको छ। पाटन नगरपालिका-८ धारीमा एकतले जस्तापाताले छाएको सामुदायिक भवनको छानो उडाएको छ। सो भवनको छानो उडेर नजिकै रहेको विनोद महराको घरबाहिर बाँधेको पाडोलाई लागेर मृत्यु भएको प्रहरी निरीक्षक बडूले बताए।
हुरीले रुख ढल्दा डिलाशैनी गाउँपालिका-६ नेगाउस्थित निङ्लासैनी आधारभूत विद्यालयको शौचालयमा क्षति पुगेको छ। असिनापानीले फलफूल र तरकारीमा क्षति पुगेको दोगडाकेदार गाउँपालिका-४ का उमेश भट्टले जानकारी दिए। यसअघि गत चैत अन्तिम साता पनि असिनापानीले पाक्न लागेको गहुँबाली, तरकारी र बेर्नामा क्षति पुर्याएको थियो।