दार्चुला तुइन घटना: छानविन समितिका पदाधिकारी व्यास प्रस्थान

Photo - Rss
Photo - Rss

महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानविन गर्न गठित छानविन समितिका पदाधिकारी व्यासको माल प्रस्थान गरेका छन्। बिहीबार भारतीय बाटो हुँदै घटनास्थल पुगेको सो टोली नेपालतर्फको घटनास्थल हेर्न हेलिकप्टरमार्फत आज त्यसर्फ प्रस्थान गरेको हो।

समितिले व्यास गाउँपालिका– २ मालघाटको स्थलगत निरीक्षण  तथा पीडित परिवारसँग छलफल गर्ने जनाइएको छ।  गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको सो छानविन समिति गत मङ्गलबारदेखि यहाँ रहेको छ।

यही साउन १५ गते माल गाउँबाट सदरमुकाम खलङ्गा आउने क्रममा जयसिंह महाकाली नदीमा बेपत्ता भएका थिए। प्रत्यक्षदर्शीले भारतीय सीमासुरक्षा बल एसएसबीले तुइन फुकालिदिँदा धामी बेपत्ता भएको बताएपछि घटनाले चर्चा पाएको थियो।

छानविन समितिमा सहसचिव गौतम सहित सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य छन्।

सो समितिले घटनास्थलमा खटिएका अनुसन्धान टोली, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, घटनाका प्रत्यक्षदर्शी, सञ्चारकर्मी, मानव अधिकारकर्मी, राजनीतिक दल र व्यासका जनप्रतिनिधिसँग छलफल गरेको थियो।

अहिलेसम्म धामीको शव भेटिएको छैन। आफन्तले मृतकको कुसको मूर्ति बनाएर अन्येष्टि गरिसकेका छन्। पीडित परिवारले उचित क्षतिपूर्ति तथा बालबच्चाको पालनपोषणको जिम्मा राज्यले लिनुपर्ने माग गरेको छ।

प्रकाशित मिति: : 2021-08-06 13:30:00

प्रतिकृया दिनुहोस्