मन्दिरको सुन चोरेको आरोप लागेर प्रहरी हिरासतमा रहेका दुई जनालाई कारागार चलान गरिएको छ।
बैतडीको दोगडाकेदार–१ रीमस्थित लटिनाथ मन्दिरको सुनचोरी प्रकरणमा पक्राउ परेका सातमध्ये दुई जनालाई कारागार चलान गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए।
कारागार चलान गरिनेमा दोगडाकेदार गाउँपालिका–१ रिमका धनबहादुर कार्की र केशवराम सार्की रहेका छन्। जिल्ला अदालत बैतडीका न्यायाधीश तीलकबहादुर कार्कीको एकल इजलासले सो घटनामा संलग्न रहेका धनबहादुर र केशवरामलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो। धनबहादुर र केशवरामले मन्दिरको भण्डार घर फोडी सुन चोरी कार्यमा मुख्य संलग्न रहेका बताइएको छ।
मन्दिरबाट चोरिएको सुन खरिद गरेको आरोपमा पक्राउ परेका सुनचाँदी व्यवसायी बैतडीका दशरथचन्द नगरपालिका–४ गढीका कञ्चन पौडेल र गणेश पौडेल तथा दार्चुलाको शैल्यशिखरका भुवनसिंह साहु धरौटीमा रिहा भएका छन्। उनीहरु जनही रु ५० हजार धरौटीमा रिहा भएका हु्न्।
यस्तै मन्दिरको सुनचोरी प्रकरणमा पक्राउ परेका दोगडाकेदार गाउँपालिका–१ रीमका लालबहादुर कार्की र हरिकृष्ण सार्की जनही रु १० हजार धरौटीमा छुटेका प्रहरीले जनाएको छ।
लटिनाथ मन्दिरमा गत मङ्सिरमा सुन चोरी भएको भए पनि स्थानीयहरुले गत चैतमा मात्रै थाहा पाएका थिए। मन्दिरको सुन चोरिएको विषयमा केही महिना गाउँमै सोधपुछ गरिएको र असार अन्तिम साता प्रहरीमा उजुरी परेके थियो।
उजुरीपछि प्रहरीले पौने चार तोला सुनसहित सात जनालाई नियन्त्रणमा लिएको छ। चार जना स्थानीय र तीनजना सुनचाँदी व्यवसायीलाई नियन्त्रणमा लिएर अनुसन्धान सकेर अदालतमा पेस गरिएको थियो। पक्राउ परेका उनीहरुसँग पौने चार तोला मात्रै सुन फेला परेको भए पनि मन्दिरबाट ९ तोला सुन चोरी भएको बताइएको छ।