हालैमात्र भएको भारत-पाकिस्तान युद्धका बेला सारा संसारको चासो र चिन्ताको एउटा विषय थियो- परमाणु हतियारको प्रयोग। किनकि भारत र पाकिस्तान संसारकी परमाणु हतियारले धनी राष्ट्र हुन्। भारतले युद्धका लागि धावा बोल्दै गर्दा पाकिस्तानले पटक पटक परमाणु आक्रमण गर्ने चेतावनी दिएको थियो।
तर युद्ध चर्किन पाएन। लडाईं सुरु भएको ८६ घण्टामै त्यो थामियो।
र, अझै पनि भारत र पाकिस्तानको परमाणु हतियारलाई लिएर विश्व निकै त्रस्त छ।
हामी यहाँ पाकिस्तानको परमाणु हतियार बारे चर्चा गर्नेछौं।
एउटा इतिहासका अनुसार जुल्फिकार अली भुट्टोले पाकिस्तानमा परमाण हतियारको सुरुवात गरेका थिए। उनी पाकिस्तानका प्रधानमन्त्री र राष्ट्रपति दुबै भए। यो सन् १९७२ तिरको समय थियो।
त्यसको दुई वर्षपछि सन् १९७४ मा भारतले पहिलोपटक परमाणु हतियार परीक्षण गर्यो।
त्यो बेला जुल्फिकारले भनेका थिए ‘भारतले बम बनाउँछ भने बरु हामी घाँसपात खाएरै बाँचौंला, भोकै सुतौंला र पाकिस्तानले पनि आफ्नै बम बनाउनेछ। योबाहेक हामी बच्ने दोस्रो कुनै बिकल्प छैन।’
यसपछि पाकिस्तानले पनि परमाणु हतियारलाई आफ्नो युद्धनीति नै बनायो।
जुल्फिकारको त्यो सपनालाई अर्का पाकिस्तानी बैज्ञानिक डा. अब्दुल कदिर खानले विस्तार गरिदिए। धातु बिज्ञान पढेका खानले परमाण इन्जिनियरिङसँग सम्बन्धित थुप्रै अध्ययन गरेका थिए। त्यसका लागि उनी जर्मन, बेल्जियम तथा नेदरल्याण्डजस्ता देश पुगेर अध्ययनलाई पूरा गरेका थिए।
भारतले पहिलोपटक परमाणु हतियार परीक्षण गरेपछि उनिभित्र जागेको उग्र राष्ट्रवादले पाकिस्तानमा परमाणु हतियार जन्मायो। अहिले पाकिस्तानसँग जति पनि परमाणु हतियार छन् त्यो सबै डा. खानले प्रतिपादन गरेको शूत्रमा आधारित छन्। उनी पाकिस्तानमात्रै होइन बरु पूरै संसारभरि परमाणु सञ्जाल फैलाउने अगुवा मानिन्छन्। पछि उनलाई संसारका अरु देशलाई पनि उक्त परमाणु हतियारको शूत्र बेचेको आरोप लाग्यो।
यद्यपि पाकिस्तानका लागि परमाणु हतियार बनाउनका लागि उनले अत्यावश्यक सामग्रीहरू भने आफैले अध्ययन गरेका युरोपेली राष्ट्रहरूबाट ल्याएका थिए।
पाकिस्तानले पहिलोपटक सन् १९९८ मा परमाणु हतियार परीक्षण गरेको थियो। उसले वर्षौं लगाएर तयार गरेका पाँच शक्तिशाली परमाणु हतियारको सफल परीक्षण गरेको थियो।
आफ्नै भूमि बलोचिस्तानमा उक्त हतियार परीक्षण गर्दा लगभग ५ रेक्टरभन्दा बढी स्केलको भूकम्पसमेत गएको थियो।
अहिले पाकिस्तानसँग कति हतियार छन् भन्ने संसारलाई थाहा छैन। तर उसले देशको धेरै बजेट यस्तै हतियार निर्माण र संग्रहमा खर्च गर्नेगर्छ।
कतिपय अपुष्ट रिपोर्टहरूका अनुसार हाल पाकिस्तानसँग १७० जति त्यस्ता परमाणु हतियार छन्। जो भारतको भन्दा केहीमात्रै कम हो। भारतसँग १७२ परमाणु हतियार छन् भने चीनसँग ४७६ भन्दा धेरै परमाणु हतियार छन्।
हतियारबारे पाकिस्तानले कुनै लिखित परमाणु नीति बनाएको छैन। यसको अर्थ के हो भने छुट्टिनेबेला देखि नै कायम रहेको भारतसँगको ‘दुश्मनी’लाई पाकिस्तानले सधैं धावा बोल्न सक्छ। युद्धका बेला पाकिस्तानले सुरुवातमै यो हतियारको प्रयोग पनि गर्नसक्छ। यसलाई ‘फर्स्ट युज पोलिसी’ अर्थात् प्रथम प्रयोगका रुपमा लिइन्छ। त्यसैले पनि पाकिस्तानको हतियारदेखि सबै झस्किन्छन्।
तर त्यसको प्रयोगको अधिकार भने सबैभन्दा शीर्षस्थानमा रहेको नेशनल कमाण्ड अथ्योरिटीसँग हुन्छ। यो लगभग भारतकोजस्तै संरचना हो। यसमा प्रधानमन्त्री अध्यक्ष रहन्छन्, राष्ट्रपति, विदेशमन्त्री, रक्षामन्त्री तथा अरु सुरक्षा प्रमुखहरू त्यसका सदस्य रहन्छन्।