गलत प्रवृत्ति हावी भए सेनाको शिर निहुरिन्छ

प्रधानसेनापति पूर्णचन्द्र थापाको ३ वर्षे कार्यकाल भदौ २४ गते पुग्दैछ। सेनाको परम्पराअनुसार अवकाशको एक महिनापहिल्यै उनी बिदामा बसेका छन्। आजदेखि कायममुकायम प्रधानसेनापतिका रूपमा प्रभुराम शर्माले सैनिक नेतृत्व सम्हाल्ने छन्। प्रधानसेनापति थापाले जंगी अड्डाभित्र भ्रष्टाचार, अनियमितता र बदमासी उजागर गरेका थिए।

आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नेदेखि सुशासन, विधि र प्रणालीको संस्थागत पद्धति बसाल्न उनले संगठनभित्र केही कठोर निर्णयसमेत गरे। कस्तो रह्यो त उनको कार्यकाल ? थापासँग गरेको कुराकानी :

कार्यकाल पूरा गरेर बिदा हुँदै हुनुहुन्छ, तीन वर्ष सैनिक नेतृत्व सम्हाल्दा उत्कृष्ट के गर्न सकेँ जस्तो लाग्छ ?

मेरो कार्यकालमा के उपलब्धि भएभन्दा पनि नेपाली सेनाभित्र सामूहिक रूपमा के प्रयास गर्‍यौं र त्यसबाट के कति उपलब्धि हासिल गर्‍यौं भन्ने महत्वपूर्ण पक्ष हो। नेपाली सेना राज्यको महत्वपूर्ण राष्ट्रिय सुरक्षा बल हो। राज्यको सुरक्षा र राज्यको प्रतिरक्षामा नकारात्मक प्रभाव वा असर पर्नु हुँंदैन भन्नेमा सतर्क र सजग छौं, हुनुपर्छ। ३ वर्षको कार्यकालमा पद्धति र प्रणालीलाई संस्थागत एवं स्थापित गर्न सफल भयौं। त्यसका लागि ५ सयभन्दा बढी कार्यविधि, निर्देशिका तयार भए र निर्देशनहरू जारी भए। जुन मार्गचित्र कोरेका थियौं, त्यसमा सबल छौं भन्ने आत्मविश्वास नेपाली सेनाको सकल दर्जामा आएको छ। मेरो कार्यकालको पहिलो उपलब्धि भनेको, सेनालाई पद्धति र प्रणालीमा चल्ने संगठनमा रूपान्तरण गर्नु हो। त्यसलाई प्रधानसेनापति वा मेरो व्यक्तिगत नभई, सामूहिक र सिंगो सगठनको उपलब्धिका रूपमा लिएको छु। 

 

प्रकाशित मिति: : 2021-08-10 09:47:00

प्रतिकृया दिनुहोस्