नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले दिए राजीनामा

नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले पदबाट राजीनामा दिएका छन्। सरकारले राजनीतिक प्रतिशोध लिन पूर्वाग्रही ढंगले स्पष्टीकरण सोधेको भन्दै बुधबार राजीनामा दिएका हुन्।

भट्टराईले वर्तमान सरकारलाई अराजनीतिक ढंगले स्थापित र जनविरोधि तथा विकासविरोधी भएकाले यो सरकारसँग काम गर्न नसक्ने बताएका छन्।
सरकारले यस अघि भट्टराईलाई स्पष्टीकरण सोधे पनि उनले त्यसको जवाफ भने दिएका थिएनन्।

‘व्यवस्था नै नभएको विषयमा आरोप लगाई स्पष्टिकरणको नाटक मञ्चन गरिएको हुँदा देश र जनता प्रति गैर जिम्मेवार प्रतिशोधपूर्ण, अराजनीतिक ढंगले स्थापित र विकास विरोधी तथा जनविरोधी सरकार अन्तर्गत रहेर पदीय जिम्मेवारी निभाउन नसकिने तथा देश र जनताविरुद्ध बिभिन्न अवाञ्छित स्वार्थहरुको गठजोडले बनेको गंगटे सरकारले गर्ने जनविरोधी कामहरुको सहयात्री र मुखदर्शक हुन मेरो नैतिक मूल्य मान्यता र मुलुक प्रतिको अगाध प्रेमले नदिने हुँदा मैले आजकै मितिदेखि लागु हुने गरी नेपाल रेलवे कम्पनी लिमिटेडको महाप्रवन्धक पदबाट राजिनामा दिएको छु।’ उनले राजीनामा पत्रमा उल्लेख गरेका छन्।

उनले रेल संचालनका लागि गर्नुपर्ने पूर्व तयारीहरु रहेको अवस्थामा सञ्चालन प्रक्रियालाई नै गम्भीर असर पर्ने गरी राजनीतिक प्रतिशोधबाट पूर्वाग्रही ढंगले, पूर्ववर्ति सरकारले नियुक्त गरेका सबै नियुक्तिहरु खारेज गर्ने वर्तमान सरकारको घोषित नीति अनुरुप काम गर्न नसकिने बताएका छन्। 

 

 

प्रकाशित मिति: : 2021-08-11 15:08:00

प्रतिकृया दिनुहोस्