लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

फाइल तस्वीर
फाइल तस्वीर

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिएको राजीनामा स्वीकृत भएको छ।

मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएका थिए। बुधबार प्रदेश प्रमुख शेरचनले उनको राजीनामा स्वीकृत गरेका हुन्।

मुख्यमन्त्री पोखरेलले आज पदबाट राजीनामा दिएका थिए। मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाइएको विशेष अधिवेशनको बैठक सुरु हुनु अघि नै पोखरेलले पदबाट राजीनामा दिएका थिए।

विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेको छ। एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धनबाट पोखरेल दाङ क्षेत्र नं २ (१) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए।

मुख्यमन्त्री पोखरेलले राजीनामा पत्रमा नेपालको संविधानको धारा १६८ (१)  बमोजिम नियुक्त मुख्यमन्त्रीलाई संविधानको धारा १८८ को (४) मा नियुक्त भएको पहिलो दुई वर्षसम्म अविश्वासको प्रस्ताव पेस गर्न नसकिने संवैधानिक प्रावधान भए पनि विगत केही समयदेखि लुम्बिनी प्रदेशसभामा उठेका विषयलाई दृष्टिगत गर्दै उपयुक्त समयमा विश्वासको मत लिने विषयमा सचेत हुँदै सो व्यहोरामा प्रदेश प्रमुखसमक्ष जानकारी गराएको उल्लेख गरेका छन्।

उनको राजीनामा पत्रमा विद्यमान अन्योलको अन्त्य गरी मार्गप्रशस्त गर्न नेपालको संविधानको धारा १६९ (१) क बमोजिम राजीनामा दिएको समेत उल्लेख छ। 

प्रकाशित मिति: : 2021-08-11 15:07:00

प्रतिकृया दिनुहोस्