दार्चुला तुइन घटना: छानबिन समितिद्वारा कानुनमन्त्री मन्त्रीसँग छलफल

बिएल संवाददाता

सुदूरपश्चिम
फाइल तस्वीर
फाइल तस्वीर

महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न गठित टोलीले आज सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीसँग धनगढीमा छलफल गरेको छ।

गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वमा गठित उक्त टोलीले दार्चुलामा रहेर गरेका कामबारे छलफल गरेको हो।

छानबिन टोलीसँगको भेटका क्रममा सीमा सुरक्षा र दार्चुलावासीले सीमा नाका आवागमन गर्दा भोगिरहेको कठिनाइ लगायतका बारेमा छलफल भएको मन्त्री जोशीले जानकारी दिए।

उक्त टोली आजै कञ्चनपुरतर्फ गएको जनाइएको छ। यही साउन १५ गते तुइनबाट महाकाली नदी तर्ने क्रममा धामी बेपत्ता भएका थिए। बेपत्ता भएको १२ दिनसम्म पनि उनको अवस्था अज्ञात छ।

भारतको बाटो भएर सदरमुकाम खलङ्गा आउने क्रममा व्यास गाउँपालिका–२ मालघाटमा तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काट्दा जयसिंह बेपत्ता भएको बताइएको छ। महाकाली नदी दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर भएर बग्ने गर्दछ।

बेपत्ता जयसिंहको खोजीका लागि दार्चुलामा नेपाल प्रहरीको प्राविधिक टोलीसँगै ‘ड्रोन क्यामेरा’ प्रयोग गरिएको छ। नेपाल सरकारले घटनाको छानबिनका लागि साउन १७ गते सहसचिव जनार्दन गौतम नेतृत्वको छानबिन टोली  गठन गरेको थियो।

उक्त छानबिन समितिले जिल्लामा रहँदा नेपाल–भारत दुवैतर्फबाट घटना भएको ठाउँको स्थलगत निरीक्षण गर्नाका साथै जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि, पत्रकार, मानवअधिकारकर्मी, स्थानीयवासी र घटनाका प्रत्यक्षदर्शी तथा सुरक्षा निकायसँग छलफल गरी सूचना सङ्कलन गरेको थियो। टोलीले घटनास्थलको नेपाल–भारत दुवैतर्फ स्थलगत अवलोकन अध्ययन पनि गरेको थियो।

प्रकाशित मिति: : 2021-08-11 15:59:00

प्रतिकृया दिनुहोस्