ललितपुर गोदावरीका युसुफ अलीले कतार र दुबईमा ७ वर्ष पसिना बगाए । विदेशमा काम गरिसकेपछि देशमै केही गर्ने सोचसहित उनी नेपाल फर्किए ।
काम त गर्ने तर के गर्ने ? उनले साथीलाई समस्या राखे । साथीले ट्याक्सी किनेर चलाए कमाइ राम्रै हुने सुझाव दिए । दुबईमा ट्याक्सी नै चलाएका युसुफलाई साथीको सुझाव मन पर्यो ।
ट्याक्सी किन्न तय भए पनि उनीसँग पर्याप्त रकम थिएन । बैंकिङ ज्ञान नभएकाले फेरि त्यही साथीसामु समस्या बिसाए । साथीले सामाखुसी लगेर इन्द्रमान श्रेष्ठसँग भेट गराइदिए ।
‘केही पैसा दिएपछि इन्द्रमानले ट्याक्सी आफ्नै नाममा झिक्नुहुँदो रहेछ । अनि हामीले महिनैपिच्छे उहाँलाई किस्ता र ब्याज बुझाउनुपर्ने रहेछ,’ अलीले भने, ‘बैंकिङ झन्झट गर्नुभन्दा केही बढी ब्याज परे पनि मलाई यही ठीक लाग्यो र १५ प्रतिशत ब्याज तिर्नेगरी ट्याक्सी किनेँ ।’